महिला च्याम्पियनसिप १ कात्तिकदेखि

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप १ कात्तिकदेखि काठमाडौँमा हुँदै छ । च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप १ देखि १४ कात्तिकसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा नेपालसँगै माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टिमले सहभागिता जनाउँदैछन् । सहभागी टोलीहरूमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेका छन् । भारत र भुटानको टिम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको समूह चरणका खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ तोकिएको छ । नकआउट चरणका खेलहरूको टिकटदर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ १ हजार रुपैयाँ कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
च्याम्पियनसिपका लागि दशरथ रंगशालालाई पूर्ण रूपमा तयार पारिएको एन्फाले जनाएको छ । च्याम्पियनसिपमा सहभागी ७ टोली २ समूहमा विभाजन भएका छन् । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेल ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । १४ कात्तिक हुने एन्फाले जनाएको छ ।

महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहीबारदेखि काठमाडौँमा हुँदै छ ।

यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेशी, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ भने समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ । नेपालले यसअघिका सबै ५ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपाल ५ पटक प्रतियोगिताको उपविजेता बनेको छ ।

भारतले ५ पटक उपाधि जितेको छ भने १ पटक बंगलादेशले उपाधि जितेको छ । टोलीको कप्तानमा अन्जिला तुम्बापो छिन् । उनका साथै अञ्जना राना मगर र उषा नाथ गोलरक्षकको रूपमा टोलीमा छन् । टोलीको डिफेन्डरमा गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी ठोकर छन् ।

रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी टोलीको मिडफिल्डर छन् । रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी टोलीको फरवार्ड छन् ।

प्रतिक्रिया