एनपिएलमा भित्रियो विवाद

काठमाडौँ । नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ–क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग–एनपिएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन् । क्यानले एनपिएल १६ मंसिरबाट आयोजना गर्ने तयारी गरिरहेको छ ।

आमिरले एनपिएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दावी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन् । उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपिएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् । उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।
एनपिएलमै सहभागी टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन–४ देखि १ सम्मको यात्रा गरेको थियो । पुबुदुकै प्रशिक्षणमा नेपाल सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो । पुबुदुले २ पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए ।

यसैबीच, सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वस्पीनर ब्राड हजलाई प्रमुख मेन्टर नियुक्त गरेको छ । हजको नियुक्तिले एनपिएलमा टोलीको प्रदर्शन उच्च हुने विश्वास सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले गरेका छन् । ४९ वर्षीय हजले यसअघि इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सबाट खेलेका थिए । जगत टमटा सुदूरपश्चिमका प्रमुख प्रशिक्षक हुन् । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन् । एनपिएल १६ मंसिरबाट सुरू हुँदै छ ।

प्रतिक्रिया