जुरिच । पहिलोपटक विश्वकप फुटबल ३ देशमा आयोजना हुँदै छ । विश्व फुटबल महासंघ (फिपफ)ले सबै महादेशमा पालैपालो विश्वकप फुटबलको आयोजना गर्ने सोचका साथ सन् २००२ को संस्करण यता फरक क्षेत्रीय महासंघले आयोजनाको अवसर पाएका छन् । आसन्न विश्वकप फुटबल भने उत्तरी तथा दक्षिण अमेरिकी महासंघको भागमा परेको हो । सन् २०२६ मा ३ देशमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदै छ । प्रतियोगितामा पहिलोपटक ४८ टोलीको सहभागिता रहनेछ । ३२ टोलीबाट बढाएर पहिलोपटक ४८ टोलीको सहभागितामा विश्वकप फुटबल हुन लागेको हो । यस पटकको छनोट प्रक्रियासमेत धेरै ‘कम्प्लेक्स’ छ ।
३० मार्च २०१७ मा ब्युरो अफ फिफा काउन्सिलले आगामी विश्वकपका लागि छनोट प्रक्रिया र सिट विभाजनमा सहमति जुटाएको थियो । सोही सहमतिअनुसार फिफा अन्तर्गतका ६ जोनलाई सिट विभाजन गरिएको थियो ।
क्यानडा, मेक्सिको र अमेरिका आयोजक भएका कारण आसन्न विश्वकप फुटबलका लागि छनोट भएका छन् । बाँकी रहेका ४५ टोलीको टुंगो छनोटबाट हुनेछ । ४३ टोली सिधै छनोट हुनेछन् भने २ टोली इन्टर कन्फरडेसन प्ले अफबाट छानिनेछन् । इन्टर कन्फरडेसन प्ले अफमा ६ टोलीले सहभागिता जनाउनेछन् ।
एसियाली फुटबल महासंघ (एएफसी)लाई ८ सिट दिइएको छ । नवौँ टोलीले प्ले अफ खेल्नेछ । अफ्रिकन फुटबल महासंघ (काफ)लाई ९ सिट दिइएको छ । १०औँ टोलीले प्ले अफ खेल्नेछ । उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ)लाई आयोजकबाहेक ३ सिट दिइएको छ । चौथो र पाँचौँ टोलीले प्ले अफ खेल्नेछ । दक्षिण अमेरिकी फुटबल महासंघ (कोनेबल)लाई ६ सिट दिइएको छ । सातौँ टोलीले प्ले अफ खेल्नेछ ।
ओसियना क्षेत्र (ओएफसी)ले १ सिट पाएको छ । दोस्रो टोलीले प्ले अफ खेल्नेछ । युरोपेली फुटबल महासंघ (युइएफए)ले १६ सिट पाएको छ । युरोपको कुनै टोलीले प्ले अफ खेल्ने छैनन् ।
१ अगस्ट २०२२ मा एएफसीको बैठकले आफूले पाएको सिटअनुसार छनोटको मापदण्ड तय गरेको थियो । सोअनुसार कुल ४६ सदस्य राष्ट्रलाई २ ग्रेडमा विभाजन गरिएको थियो । पहिलो ग्रेडमा माथिल्लो वरीयताका २६ तथा बाँकी २० तल्लो ग्रेडमा रहे । पहिलो चरणमा तल्लो ग्रेडमा रहेका २० टोली मध्य होम एन्ड अबे २ खेल भएको थियो । सोहीअनुसार १० टोली दोस्रो चरणमा छनोट भए ।
दोस्रो चरणमा माथिल्लो ग्रेडका २६ तथा पहिलो चरण पार गरेका कुल ३६ टोलीको बीचमा प्रतिस्पर्धा भइसकेको छ । दोस्रो चरणमा सहभागी ३६ टोलीलाई ४ टोलीको ९ समूहमा विभाजन गरिएको थियो । हरेक टोलीले आफ्नो समूहका ३ टोलीसँग होम एन्ड अवेको आधारमा कुल ६ खेल खेलेका थिए । हरेक समूहबाट शीर्ष २ स्थान पाउने कुल १८ टोली तेस्रो चरणका लागि छनोट भए ।
तेस्रो चरणमा सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । तेस्रो चरणमा पनि हरेकले आफ्नो समूहका अन्य टोलीसँग होम एन्ड अवेको आधारमा १५ खेल खेल्नेछन् । प्रत्येक समूहबाट शीर्ष २ स्थान पाउने टोली विश्वकपका लागि छनोट हुनेछन् । चौथो र पाँचौँ हुने कुल ६ टोली चौथो चरणमा प्रवेश गर्नेछन् ।
चौथो चरणमा खेल्ने ६ टोलीलाई २ समूहमा विभाजन गरिनेछ । दुवै समूहमा एकल राउन्ड रोबीन खेल हुनेछ । १ टोलीले सो चरणमा २ खेल खेल्ने छ । दुवै समूहबाट पहिलो हुने टोली पनि विश्वकपमा छनोट हुनेछ । यसरी एसियाका ८ टोलीको टुंगो लागेपछि चौथो चरणमा समूहमा दोस्रो हुने २ टोलीको बीचमा हुने २ लेगको प्ले अफले इन्टर कन्फरडेसन प्ले अफमा खेल्ने टोलीको टुंगो लाग्नेछ ।
अफ्रिकामा ५४ देशलाई एक समूहमा ६ टोली गरी ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले विश्वकपमा सहभागिताको अवसर पाउनेछन् । दोस्रो स्थान पाउने ९ मध्येका ४ उत्कृष्ट टोलीको दोस्रो चरणको खेल हुनेछ । ४ टोलीको प्ले अफबाट इन्टर कन्फरडेसन प्ले अफका लागि १ टोली छनोट हुनेछ ।
कान्काकाफमा ३२ टोलीले सहभागिता जनाएका छन् । वरीयताको पुछारमा रहेका ४ टोलीले पहिलो चरणमा होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गरेका थिए । यसरी सफलता पाउने २ टोली र माथिल्लो वरीयताका २८ टोलीको बीचमा दोस्रो चरणको खेल भएको हो ।
अहिले ३० टोलीलाई ५ टोलीको ६ समूहमा विभाजन गरिएको छ । हरेकले समूहको अर्को टोलीसँग १ खेलका दरले ५ खेल खेल्नेछन् । हरेक समूहबाट शीर्ष २ स्थान पाउने टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
दोस्रो चरणबाट छनोट भएका १२ टोलीलाई तेस्रो चरणमा ४ टोलीका दरले ३ समूहमा विभाजन गरिनेछ । यी टोलीको बीचमा होम एन्ड अबे राउन्ड रोबिनको आधारमा खेल हुनेछ । हरेक समूहका विजेताले विश्वकपमा छनोट पाउनेछ । दोस्रो हुने उत्कृष्ट २ टोली इन्टर कन्फरडेसन प्ले अफका लागि छनोट हुनेछन् ।
यस समूहमा रहेका १० टोलीले एकले अर्कोसँग डबल राउन्ड रोबिनको आधारमा कुल १८ खेल खेल्नेछन् । शीर्ष ६ स्थान पाउने टोली सिधै विश्वकपमा छनोट हुनेछ । सातौँ टोलीले इन्टरकन्डरडेसन प्ले अफमा मौका पाउनेछ । इक्वेडरको भने गत विश्वकप छनोट साइकलमा ब्रायन कास्टिलोको उमेर प्रमाणपत्रमा बेइमानी गरेका कारण सुरुमै ३ अंक घटाइएको छ । सो समूहमा ८ खेल सकिएको छ ।
एसियामा ११ टोली छन् । पहिलो चरणमा पुछारका ४ टोलीका बीचमा ३ खेलको नकआउट प्रतियोगिता भएको थियो । सो प्रतियोगिताबाट सामोआ दोस्रो चरणमा छनोट भएको छ । दोस्रो चरणमा शीर्ष वरीयताका ७ तथा सामोआ गरी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष २ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा यी ४ टोलीको बीचमा नकआउट खेल हुनेछ । फाइनलको विजेता विश्वकपमा छनोट हुनेछ भने उपविजेता इन्टर कन्फरडेसन प्ले अफमा लागि छनोट हुनेछ ।
युरोपेली देशलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ या ५ देश सहभागी छन् । डबल राउन्ड रोबिनको आधारमा हुने खेलबाट हरेक समूहको विजेताले विश्वकपमा प्रवेश पाउनेछ । दोस्रो हुने १२ टोली तथा नेसनल लिगका उत्कृष्ट ४ टोलीसमेत गरी १६ टोलीको बीचमा दोस्रो चरणको खेल हुनेछ । सो चरणमा हुने प्ले अफबाट ४ टोलीको छनोट हुनेछ । सो चरणमा ४ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा होम एन्ड अबे सेमिफाइनल र फाइनल हुनेछ । यसरी ४ पाथ वेमा विजयी ४ टोली विश्वकपमा छनोट हुनेछन् ।
प्रतिक्रिया