काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको चुनाव नजिकिएसंगै खेल क्षेत्रका केही राजनीतिक खेलाडीहरुबीचको गठबन्धनको चर्चा हुन थालेको छ । यो गठबन्धनमा जजसको नाम जोडिएको , तिनीहरुको सहकार्यको विगत भने राजनीतिक पार्टीहरुको विश्वासघात भन्दा पनि गएगुज्रेको छ ।
९ वर्ष अघि सम्पन्न नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा अध्यक्षमा तत्कालीन महासचिव जीवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेश लाल श्रेष्ठ उम्मेदवार थिए । महासचिवमा नेपाल साइक्लिङ संघका अध्यक्ष छिम्मी उर्केन गुरुङ र नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा(हाल दिवंगत) उम्मेदवार थिए । तत्कालीन महासचिव ध्रुवबहादुर प्रधानले अध्यक्षमा जीवनरामलाई सघाउने पहिले नै सहमति भएकोले श्रेष्ठ अध्यक्षमा निर्वाचित हुने पक्का जस्तै थियो । महासचिवमा टेण्डी लामा शेर्पा र प्रधान निकट गुरुङका बिचमा तीव्र प्रतिस्पर्धाको अनुमान थियो । तर लामाले अत्यधिक मतले जित हात पारे । कारण प्रस्ट थियो , अन्तिम समयमा प्रधान निकट ५ जनाले आफ्नै उम्मेदवारको विपक्षमा मत हाले । यसले प्रस्ट पारेको छ की खेल क्षेत्रमा ध्रुवबहादुर प्रधान कति विश्वसनीय छन् भनेर ।
त्यसो त नेपाली खेलकुदका शीर्ष व्यक्तिहरू आफ्नो जिम्मेवारी पुरा गर्ने कुरामा सबै चुकेका छन् । भाषणमा जे भनिए पनि सही काम गर्ने चासो एकाध बाहेक अन्य कसैमा पनि छैन भन्ने जग जाहेर छ नै छ । यिनैको बिचमा केही यस्ता व्यक्ति छन्, जो चुनावी राजनीति होस या अन्य कुनै गतिविधि,सबै क्षेत्रमा सँगै हिँडेका सहयात्रीलाई धोका दिएर एक्लै अघि बढ्न खप्पिस छन् । ध्रुव बहादुर निकट रहेका व्यक्तिहरू त्यसै चरित्रका भएको कुरा सोही ओलम्पिक कमिटीको निर्वाचनले प्रस्ट पारेको छ ।
२०५७ सालमा तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विनोद शंकर पालिखेले गणेश थापाको नेतृत्वमा रहेको अखिल नेपाल फुटबल संघ विघटन गर्दै गीता राणालाई अध्यक्षको जिम्मेवारी दिएका थिए । सोही समयमा नेपालमा दुई संघ अस्तित्वमा थिए । कर्मा छिरिङ शेर्पा राजनीतिक हस्तक्षेप स्वरूप राणा नेतृत्वमा गठित संघमा प्रवेश गर्दै फुटबल राजनीतिमा पाइला चालेका थिए ।
शेर्पाको त्यसै चरित्रले एन्फा राजनीतिमा त्यसपछि निरन्तरता पाएको छ । त्यपछि भएको एन्फाके साधारण सभामा शेर्पाले टासी घलेलाई अध्यक्षको उम्मेदवार बनाएका थिए । घलेले निर्वाचनमा हार व्यहोरेको केही समयपछि विनोद शंकर पालिखेको कार्यकाल सकिँदै थियो । पालिखेले आफू सदस्य सचिव छाड्ने समयमा तीनै कर्माको नेतृत्वमा टासी सहितलाई बोकेर राणालाई धोका दिँदै गणेश थापा कित्तामा उभिएर फुटबल विवाद नै समाप्त भएको घोषणा गरेका थिए ।
यी केही यस्ता उदाहरण हुन्, जसले नेपाली खेलकुदमा माथिल्लो ओहदामा रहनेमा पदीय गैर जिम्मेवारी मात्रै होइन व्यक्तिगत सम्बन्धमा विश्वासघात र धोकाबाजी सामान्य हुन् भन्ने पुष्टी गर्दछन् । यही पंतिमा अखिल नेपाल फुटबल संघका कार्यकारी अधिकृत इन्द्रमान तुलाधर पनि पर्दछन् । आफ्नो शक्ति कम हुनेबित्तिकै विद्रोहको आवाज उठाउने र विद्रोहका साझेदारलाई धोका दिँदै शक्तिसँग सम्झौता गर्ने तुलाधरको चरित्र विगत २ दशक देखि यथावत् छ । गणेश थापा नेतृत्वको एन्फाको विरुद्धमा बारम्बार आन्दोलन चर्काउने र लाभ लिएर सम्झौता गर्ने आदत भएका तुलाधरले हालका अध्यक्ष पंकज विक्रम नेम्बाङको विरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गर्न लगाएर बार्गेनिङ गरेका थिए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको पनि गतिविधि त्यस भन्दा कम छैन । जो बढी शक्तिशाली छ उसैसँग सम्झौता गर्ने उनको बानी यथावत् छ । माओवादीका पूर्व मन्त्री हितबहादुर तामाङ निकट लामा उनकै कार्यकालमा सदस्य सचिव भएका थिए । हालका राखेप सदस्य सचिव टंकलाल घिसिङलाई सो स्थानमा पु¥याउन पनि लामाले सहयोगी भूमिका निभाएका थिए । घिसिङले पदभार ग्रहण गरेको केही समयमा नै आफू अनुकूल नभए पछि लामाले उनको विरुद्धमा आवाज उठाएका थिए । घिसिङ लामा अनुकूल चल्न थाले पछि यी दुई बीचको सम्बन्ध अहिले सुमधुर छ ।
नेपाली खेलकुदमा अहिले नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कराते महासंघका अध्यक्ष युवराज लामा सहितको गठबन्धनको चर्चा चलेको छ । त्यस्तै ध्रुबबहादुर प्रधान, टंकलाल घिसिङ,कर्माछिरिङ शेर्पा,शैलेस कर्माचार्य लगायतको पनि गठबन्धनको चर्चा छ । तर यिनीहरुको विगत हेर्ने हो भने कसले कतिबेला कहाँ धोका दिन्छ त्यसको कुनै टुङ्गो छैन ।
प्रतिक्रिया