दीपेन्द्रसिंह ऐरीको छलाङ : टी–२० अलराउन्डर विश्व वरियताको दोस्रो स्थानमा

काठमाडौं । नेपाली क्रिकेटका दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा छलाङ मारेका छन् । नेपालका अलराउन्डर खेलाडी दीपेन्द्र टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका हुन् ।

कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस, चौथोमा जिम्बावेका सिकन्दर रजा र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।

टी–२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औँ, रोहित पौडेल ५४औँ, गुल्शन झा ५६औँ र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औँ स्थानमा छन् । टी–२० बलरको वरियतामा दीपेन्द्र ७१औँ स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् ।

अन्य कुनै पनि नेपाली बलर शीर्ष सयभित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औँ नम्बरमा छन् । रोहित पौडेल ६१औँ, आसिफ शेख ७०औँ र कुशल मल्ल १००औँ स्थानमा छन् । यसअघि छैटौँ स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी अहिले ठूलो स्थान हासिल गरेका हुन् ।

प्रतिक्रिया