१० वर्षको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाए ग्रिजम्यानले

पेरिस । मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले सन् २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यो खेलमा पेनाल्टीमा गरेको गोलसहित फ्रान्सका लागि खेलिएका १३७ खेलमा ४४ गोल गरेका ३३ वर्षीय एन्टेनियो ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ग्रिजम्यानले सो विश्वकपमा सिल्भर बुटसमेत जितेका थिए ।

फाइनलमा १ गोल गर्नुका साथै २ गोलको अवसर सिर्जना गरेबापत उनी म्यान अफ दी म्याचसमेत घोषित भएका थिए । उनी सन् २०२१ को नेसन्स लिग विजेता फ्रान्सेली टोलीका सदस्य हुन् । एट्लेटीको म्याड्रिडका खेलाडी उनले फ्रान्सेली राष्ट्रिय टोलीमा रहेर बिताएका हरेक क्षणले आफूलाई गौरवान्वित बनाउने बताए ।

उनले फ्रान्सको राष्ट्रिय टोलीको जर्सी भिर्न पाउनु नै सबैभन्दा महत्वपूर्ण भएको समेत बताए । गएको नेसन्स लिगमा फ्रान्स इटालीसँग ३–१ ले पराजित भएको थियो । त्यसको ३ दिनपछि बेल्जियमसँग भएको खेलमा फ्रान्स २–० ले विजयी भएको थियो । सो खेलमा ग्रिजम्यान वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए ।

सन् २०१४ मा फ्रान्सेली राष्ट्रिय टोलीमा प्रवेश गरेका ग्रिजम्यान त्यसयता टोलीका महत्वपूर्ण खेलाडीकै रूपमा आफूलाई प्रस्तुत गर्न सफल भए । सन् २०१६ को युरो कपमा उनी ६ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए । सो युरो कपको फाइनलमा पोर्चुगलसँग पराजित हुँदै फ्रान्स उपविजेतामा सीमित भएको थियो । सन् २०२२ को विश्वकप फाइनलमा पनि ग्रिजम्यान खेलेका थिए । नियमित समय ३–३ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

हुँगो लोरिसको सन्यासपछि उनको साटो केलिएन एम्बाप्पेलाई कप्तान बनाइएपछि उनलाई फ्रान्सेली फुटबलको यो निर्णय स्वीकार गर्न कठिन भएको थियो । यसका बाबजुद जर्मनीमा भएको युरो कपमा उनी सहभागी थिए । जर्मनीमा सन् २०२४ मा भएको युरो कपको सेमिफाइनलमा फ्रान्स स्पेनसँग पराजित भएको थियो ।

ग्रिजम्यानको उपस्थितिमा फ्रान्स ३ पटक ठूला प्रतियोगिताको फाइनलमा पुगेको थियो । यो सबै सफलता सन् २०१६ देखि २०२३ को बीचमा भएको थियो । यसै मध्येको सबैभन्दा ठूलो उपलब्धि बनेको सन् २०१८ को विश्वकप नै हो ।

सन् २०१४ को मार्चमा उनको डेब्यु खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २–० ले हराएको थियो । उनको उपस्थितिमा एट्लटीकोले म्याड्रिडसँग खेलेको अन्तिम खेलमा १–१ गोलको बराबरी भएको थियो । ग्रिजम्यानले व्यावसायिक खेलाडी जीवनको अन्त्य एमएलएस खेलेर गर्ने योजना रहेको बताएका छन् ।

फ्रान्सका कप्तान केलिएन एम्बाप्पेले इन्सटाग्राम एकाउन्टमा ग्रिजम्यानप्रति सम्मान व्यक्त गर्दै कठिन समयमा फ्रान्सेली टोलीलाई नेतृत्व गरेर नयाँ दिएको बताउँदै सँगै रहँदाको क्षण सधैँ अविस्मरणीय भएको बताएका छन् । एम्बाप्पेले ग्रिजम्यानको नाम फ्रान्सेली फुटबलको इतिहासमा सुनौलो अक्षरले लेखिने बताएका छन् । फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसम्याक्याप्ले ग्रिजम्यानलाई अनुशासित खेलाडी हुनुका साथै टिम भावनाले ओतप्रोत खेलाडीको रूपमा सम्झिएका छन् । अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेक लगत्तै फ्रान्सले बेल्जियमसँग खेल्ने नेसन्स कपको टोली घोषणाको केही दिनअघि उनले सन्यासको घोषणा गरेका हुन् ।

प्रतिक्रिया