एक समयका ती नायक

२२ जनवरी, २०१८ का दिन लाइबेरियामा जर्ज वेले सत्ता सम्हालेका थिए । जर्ज वे तीनै खेलाडी थिए, जो फिफा वर्ष खेलाडी हुने पहिलो अफ्रिकन फुटबलर हुन् । राष्ट्रपतिको रूपमा उनको कार्यकाल आर्थिक विकास र गरिबी निवारणका कारण चर्चामा रहेको थियो ।

धेरैलाई यो कुराको हेक्का नहुन सक्छ वे तीनै व्यक्ति हुन् जसको ड्रिब्लिङ कला र गतिका कारण एसी मिलानले सन् १९९४ मा युरोपमा तहल्का नै मच्चाएको थियो । बार्सिलोनाका सुपर स्टार रोमारियो तथा युभेन्ट्समा रोबर्टो बाजियो भए पनि एसी मिलानको भिन्न साख र पहिचान थियो । यसै कारण उनी सन् १९९५ मा फिफा वर्ष खेलाडीसमेत भएका थिए ।

उनको बाल्यकाल गरिबीमा बितेको थियो । यसै गरिबीका कारण उनी सानो उमेरमा नै फुटबलको सपना बोकेर क्यामरुन होमिएका थिए । बिनाप्रशिक्षक नै फुटबल सिकेर क्यामरुनमा तहल्का मच्चाएका उनले २२ वर्षको उमेरमा सन् १९८७ मा फ्रेन्च क्लब मोनाकोमा अवसर पाएका थिए । यसै अवसरलाई सही उपयोग गरेका उनले पेरिस सेन्ट जर्मनलाई फ्रन्सेली फुटबलको शक्तिको रूपमा स्थापित मात्र गराएनन् । उनले आफ्नो टोलीलाई युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा समेत प्रवेश गराए । २ पटक एसी मिलानलाई सिरिए उपाधि जिताएका उनले चेल्सी विरुद्धको खेलमा जित दिलाउँदै फुटबल एसोसिएसन कप दिलाए । उनले छोटो समय मार्सेली र म्यानचेस्टर सिटीमासमेत बिताएका थिए । परन्तु उनको त्यो प्रदर्शन यादगार भने भएन ।

यसका बाबजुद जर्ज वेको जीवनका धेरै पाटा छन् । उनी हुर्कंदै गर्दा सन् १९९० को दशक लाइबेरिया गृह युद्धको चपेटाको थियो । त्यसै गृह युद्धको चपेटाबाट पार पाउँदै स्टार बनेका उनको ध्येय देशमा आर्थिक विकास थियो । आखिर यसमा उनी धेरैहदसम्म सफल पनि भए ।
गरिबीमा हुर्किएर एक समय नायक हुने खेलाडीको सूचीमा पक्कै इटालीका साल्भाटोर सिलाचीको नाम अग्रपंक्तिमा आउँछ नै । राजधानी रोमको ओलम्पिक रंगशाला । ९ जुन सन् १९९० को साँझ । विश्वकप खेलिरहेको उपाधिको दाबेदार घरेलु टोली इटालीले कमजोर मानिएको अस्ट्रियालाई नै जित्न धौधौ परेको थियो । त्यो समयमा प्रशिक्षक अजेग्लो भिन्सिनीले अन्तिम खेलाडीको रूपमा टोलीमा राखेका साल्भाटोर ‘टोटो’ सिलाचीलाई मैदानमा प्रवेश गराए । खेलको ७६औँ मिनेटमा मैदानमा प्रवेश गरेका साल्भाडोर सिलाचीले नै ७९औँ मिनेटमा जियानलुइका भियालीको दायाँ विङबाट आएको क्रसमा हेड गर्दै इटालीका लागि विजयी गोल गरे ।

उनले यसरी खुसीयाली मनाए कि टोलीका अन्य खेलाडीले सम्हालेर मैदानमा नल्याएसम्म उनी खुसीले पागल नै थिए । आफँैलाई सम्हाल्न कठिन भइरहेको थियो । त्यो नै विश्व फुटबलमा नपत्याउँदो रूपले एउटा स्टारको उदय गराउने क्षण थियो । २ साता अघि मात्र युभेन्ट्ससँगको २ लेगको खेलमा सफलता दिलाएर युभेन्ट्सलाई इइएफए कपको उपाधि दिलाउनुका बाबजुद २५ वर्षीय सिलाची अन्त्यमा टोलीमा परेका थिए । उनले विश्वकप हेरेर मात्र फर्कने अनुमान धेरैको थियो ।

पार्लेमाकोमा जन्मिएर गरिबीमा बिताएका तथा कठोर संघर्ष गर्दै सफलताको यात्रा तय गरेका सिलाचीको ५९ वर्षको उमेरमा कोलोन क्यान्सरको कारण निधन भएको छ । सन् १९९० को विश्वकप फुटबल सम्झनेका लागि उनी एउटा बेजोड नाम र इतिहास हुन् ।

२५ वर्षको उमेरमा सन् १९९० मा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डेब्युकै वर्ष भएको विश्वकपमा ६ गोल गरेर शीर्ष गोलकर्ता बने । विश्व फुटबलमा यो चानचुने कुरा पक्कै थिएन । वर्षको अन्त्यमा उनी जर्मनीका लोथर म्याथुजभन्दा पछि रहँदै बालोन डोर अवार्डमा दोस्रो स्थानमा रहे । अमेरिकासँगको दोस्रो खेलमा पनि बेन्चबाट मैदानमा प्रवेश गरेका उनले चेक गणतन्त्रसँगको खेलमा भने सुपरस्टार रोबर्टो बाजियोसँग अग्र भागमा सुरुआतदेखि नै खेल्ने मौका पाए । सो खेलमा यी दुवैले गोल गरेपछि इटाली २–० ले विजयी भएको थियो ।

सिलाचीको सनसनी यत्तिमा सीमित थिएन । उरुग्वेसँगको दोस्रो चरणको खेलमा आफैँले गोल गरे भने उनकै सहयोगमा अल्डो सेरेनाले अर्को गोल गरे । विश्वकपमा गणतन्त्र आयरल्यान्डको सनसनी अन्त्य गर्ने क्रममा उनले क्वाटरफाइनलमा गोल गरे । सोही गोलले इटाली १–० ले विजयी भयो ।
अर्जेन्टिनासँगको सेमिफाइनल खेलमा उनले सुरुआती अग्रता दिलाए । त्यसका बाबजुद टाइब्रेकरमा इटाली पराजित भयो । इंगल्यान्डसँगको तेस्रो स्थानका लागि भएको खेलमा १–१ को अवस्थामा इटालीले पेनाल्टी अवसर पाएको थियो । बाजियोले बल सिलाचीलाई थमाए । यसै पेनाल्टी गोलका कारण सिलाची ५ गोल गरेका चेक गणतन्त्रका थोमस सुकराभीलाई पछि पार्दै गोल्डेन बुट जित्न सफल भएका थिए । उनले इटालीका लागि १६ खेल मात्र खेले । त्यसमा ७ गोल गर े। ६ गोल त्यसै विश्वकपमा थियो ।

१९९० को विश्वकपमा जर्मनीबाहेक सम्झनलायक केही हो भने त्यो सिलाचीको उदय हो । हेर्दै डरलाग्दो र जंगली लाग्ने उनको आँखा धेरैलाई याद छ । उनी आफैँ पनि स्वीकार गर्छन् । केही खोजे जस्तो, भोकाएको जस्तो । उनको त्यही भोक र तृप्तिलाई सन् १९९० को विश्वकपमा पूरा गरेका थिए ।

सन् १९९२ मा युभेन्ट्सबाट एसी मिलान पुगेका उनले धेरै चोट बोके । अन्त्यमा जापान पुगेर जुविलो इवातालाई घरेलु उपाधि दिलाएर उनले खेल जीवनको अन्त्य गरे । खेल जीवनको अन्त्यपछि उही पालेर्मोका पुगेर उनले सादा जीवन बिताए । स्कुटरमा सहर घुमेर नै धेरै समय बिताए ।
मानिसलाई परिचित हुन धेरै लामो समय चाहिँदैन । १ महिना लामो त्यो विश्वकप जसले उनलाई संसारका महान् खेलाडीको समकक्षमा लगेको थियो । अहिले पनि विश्व फुटबलका पण्डित ३४ वर्ष अघिको त्यो भोकाएको झैँ देखिने आँखा र फरक शैलीको गोल सेलिब्रेसन सम्झनेछन् । पालेर्मोको अस्पतालमा ११ दिन बिताएपछि उनले बुधबार देहलीला त्याग गरे ।

बाल्यकालमा पार्लेर्मोका बिताएका सिलाचीले स्टार हुनुका बाबजुद आफ्नो वास्तविकता कहिल्यै पनि बिर्सेनन् । सधैँ त्यही पालेर्मोको सादा जीवनमा रमाएका उनी अहिले पनि धेरैका लागि आदर्श पात्र बनेका छन् । इटालीमा यसै साता हरेक मैदानमा सिलाचीको सम्झना हुनेछ । सन् १९९९ मा सन्न्यास लिएका उनले पालेर्मोमा नै फुटबल स्कुल सञ्चालन गरिरहेका छन् । विश्व फुटबलमा संघर्ष र थकान हुनु हुँदैन । सफलता जुनसुकै समयमा पनि आउन सक्छ भन्ने कुराको उदाहरण नै सन् १९९० को विश्वकपमा सिलाचीको उदय हो ।

सन् १९९४ मा रुस विरुद्धको खेलमा गोल गरेर क्यमरुनका रोजर मिलरले विश्वकपमा सबैभन्दा धेरै उमेरमा गोल गर्ने खेलाडीको रूपमा कीर्तिमान राखेका थिए । सो कीर्तिमान अझै कायम छ । मिलरले यस अघिको सन् १९९० को विश्वकपमा ३८ वर्षको उमेरमा गोल गरेर आफ्नै नाममा रहेको कीर्तिमान आफैँले भंग गरेका हुन् । सन् १९७३ मा उनी पहिलोपटक राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भएका थिए ।

उनी पनि सन् १९९० को विश्वकपमा बेन्चबाट आएर नै गोल गर्ने गरेका थिए । रोमानियासँगको खेलमा बेन्चबाट आएर २ गोल गरेका उनले कोलम्बियासँगको दोस्रो चरणको खेलमा पनि बेन्चबाट आएर २ गोल गरेका थिए । यसअघि नै क्यामरुनलाई अफ्रिकी नेसन्स कप दिलाएका उनले सन् १९८८ मा सन्यासको घोषणा गरेका थिए । तत्कालीन राष्ट्रपति पाउल बियाको अनुरोधमा उनी सन्यास फिर्ता लिँदै खेलमा फर्किएका थिए । उनले सन् १९९४ को विश्वकपमा राखेको सो इतिहास सायद अबको धेरै वर्षसम्म कसैले पनि भंग गर्न सक्ने छैन ।

चरम गरिबी, संघर्ष र गृह युद्धको बीचमा हुर्किएर पनि १ दिन नायक भएका यी व्यक्तित्वलाई सबैले सधैँ सम्झने नै छन्

प्रतिक्रिया