पून्यमानलाई भेट्रान चेस उपाधि

काठमाडौँ । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५ दशमलव ५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेश मान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको आधारमा दोस्रोदेखि चौथो भए ।

५ अंक भएका पूर्णराज खड्का पाँचाैँ, विलम लाल श्रेष्ठ छैटाैँ, राजेन्द्र बज्राचार्य साताैँ, जनार्दन श्रेष्ठ आठाैँ, भीमदत्त पाण्डे नवाैँ तथा अबिरल राई १०आैँ भए ।

उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ तथा उपविजयी नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैयाँ पुरस्कार पाए । चौथो हुने खेलाडीले १० हजार तथा पाँचाँै हुने खेलाडीले ७ हजार रुपैयाँ पुरस्कार पाए । छैटौँदेखि १०आँै स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता खेलाडीहरूलाई पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे । समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला विशेष अतिथि थिए । यसैगरी, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्वअध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठका आमा लक्ष्मी श्रेष्ठ तथा धर्मपत्नी संगीता श्रेष्ठ, बुद्धिचाल महासंघका उपमहासचिव मोनालिसा खुम्बू र अखिल नेपाल बुद्धिचाल संघका प्रदेश अध्यक्षहरूको उपस्थिति थियो ।

समापन समारोहको कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल महासंघका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो ।

स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो । दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलोपटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडीसमेत हुन् ।

नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियनसमेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतिक्रिया