काठमाडौँ । अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप बुधबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल उद्घाटन गरे । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष तथा राखेपका पूर्व उपाध्यक्ष शिव कोइराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्यसचिव युवराज लामा र समाजसेवी सावित्री अधिकारीको पनि उपस्थिति थियो ।
अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेपाल उसु संघका महासचिव नवराज ढुंगानाका साथमा नेपाल बुद्धिचाल संघका सचिव मोनालिसा खुम्बुको उपस्थिति थियो । नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धिचाल संघका संयोजक दिपेन राईको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल संघका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् ।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालन हुने प्रतियोगितामा ४२ जनाको सहभागिता छन् । प्रतियोगितामा पूर्व राष्ट्रिय च्याम्पियन बद्री लाल नेपाली, नवीन तुण्डकार र पुण्यमान कर्माचार्य पनि सहभागी छन् । एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलोपटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडीसमेत हुन् ।
नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियनसमेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो । ३ चरणको समाप्तिमा विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य र पूर्ण राज खड्काले शतप्रतिशत अंक जोडेका छन् ।
प्रतिक्रिया