पहिलो चरणको टोली छनोट

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरिएको छ । घरेलु मैदान दशरथ रंगशालामा १७ देखि ३० अक्टोबरसम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली तय गरेका हुन् । साविक उपविजेता नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका, माल्दिभ्स र भुटान रहेको छ । समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।

पहिलो चरणमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे र निशा ठोकर टोलीमा बोलाइएका छन् । अन्य खेलाडीमा पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई र सरु लिम्बु, दिपा शाही पनि बोलाइएका छन् । टोलीका आमन्त्रण गरिएका अन्य खेलाडीमा सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ र अनिता केसी छन् । प्रारम्भिक छनोटमा चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मियाँ, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी ठोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई र सुनिता भुलन पनि परेका छन् ।

पछिल्लो समय स्तरीय प्रदर्शन गरेर चर्चामा आएको नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिप भने जित्न असमर्थ छ । यसपटक घरेलु भूमिमा हुने प्रतियोगिातमा नेपालले उपाधिको लक्ष्य राखेको छ । यसैबीच, विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरूको भ्रमणको सिलसिलामा फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने भएका हुन् ।

इन्फान्टिनो २० असोजमा नेपाल आउने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । इन्फान्टिनो २ दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । उनी २० गते नेपाल आएर एक दिनपछि फर्कनेछन् । उनको नेपाल भ्रमणको अन्य तालिका भने टुंगो लागिसकेको छैन । उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयमा टुंगो लगाउने बताइएको छ । इन्फान्टिनो २०१६ देखि फिफाको प्रमुख पदमा छन् । उनी २०१९ मा पुनः अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया