एसियन सिनियर करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिकालाई स्वागत

काठमाडौं । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता नेपालकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । केही दिनअघि भएको सो च्याम्पियनसिपमा एरिकाले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।

उनी आज स्वदेश फर्किएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलगायतले विमानस्थलमा स्वागत गरेका हुन् । चीनको हाङ्जाउमा यही असोज ६ गते भएको ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अंकले पराजित भइन् ।

यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अंकले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । एसियन कराते फेडरेसनले आयोजना गरेको एसियन च्याम्पियनसिपमा एरिकाले प्राप्त गरेको रजत पदक नै नेपालका लागि पहिलो हो ।

अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका छैनन् । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने व्रिटोलाई ४–० अंकले पराजित गरेकी थिइन । उनले क्वाटरफाइनल खेलमा कजाकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलो पटक १९औँ एसियाडमा छनोट भएकी थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकी थिइन् ।

प्रतिक्रिया