काठमाडौँ । नेपाली क्रिकेटको अहिलेको सफलतामा विदेशी प्रशिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण छ । यो सफलतामा दर्शकको क्रेज, राज्यले दिएको प्राथमिकता र कर्पोरेट क्षेत्रको भूमिका त छँदै छ । हरेक महत्वपूर्ण प्रतियोगितामा सम्बन्धित खेलका महासंघले सम्बन्धित टोलीलाई सुविधा दिने प्रचलन खेलकुदको विश्वव्यापी मान्यता हो । यसका बाबजुद नेपालमा धेरै संघका अधिकारीले यसमा चासो दिँदैनन् । खेलाडीले पनि खोजी गर्दैनन् ।
नेपाली क्रिकेटको हकमा भने फरक घटना भएको छ । गत टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेस्ट इन्डिज भ्रमणमा गएको नेपाली टोलीका २८ जना सदस्यमै क्यानले व्यापक विभेद गरेको पाइएको छ । टोलीमा रहेका २८ जनामध्ये (१६ खेलाडी, १० अफिसियल र थप २ जना) का लागि तय गरिएको सुविधामा २५ जनालाई एउटा र बाँकी ३ जनालाई अर्कै सुविधा दिएको खुलासा भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले दिएको सुविधाका अलावा ३ जनाले क्यानबाट थप विशेष सुविधा पाएका थिए । २५ जनाले आइसिसीले दिएको सुविधामा थप दैनिक ५० अमेरिकी डलर सुविधा पाउँदा खेलाडीमध्ये सन्दीप लामिछानेले मात्रै दैनिक थप १५० अमेरिकी डलर सुविधा पाएका थिए । त्यति मात्र होइन, संघका अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तान विनोद दासको नाममा समेत प्रतिदिन १५० अमेरिकी डलर थप सुविधा दिने निर्णय क्यानले अनुमोदन गरेको पाइएको छ । यस्तै, लामिछाने र दासको हवाई टिकट सुविधा पनि क्यानले नै उपलब्ध गराएको थियो ।
राष्ट्रिय टिम तयारीमा राष्ट्रिय खेलकुद परिषद् र मातहतका निकायको कुनै पनि भूमिका छैन । यसका बाबजुद शक्तिमा हुनेले लगातार अनावश्यक फाइदा लिने प्रचलन नेपालमा अझै छ । ५ देखि २५ जुनसम्मको भ्रमणमा गएको टी–२० टोलीको सुविधामा यसरी भेदभाव गरेको पाइएको हो ।
नेपाल क्रिकेट संघको निर्णयअनुसार सो तयारीका क्रममा सन्दीप लामिछाने, अध्यक्ष चन्द र पूर्वकप्तान दासलाई आइसिसीले दिनेबाहेक अतिरिक्त सुविधा दिइएको थियो । आश्चर्य त के छ भने १५ खेलाडी र १० अफिसियललाई आइसिसीबाट प्राप्त सुविधाका अतिरिक्त दैनिक ५० अमेरिकी डलर दिने निर्णय भए पनि दास, लामिछाने र चन्दको हकमा भने दैनिक थप १५० डलर तय गरिएको छ । टोलीमा नरहे पनि राष्ट्रिय टिम तयारी समिति निर्देशक दीपक विष्टका लागि आतेजाते हवाई टिकटको सुविधा पनि क्यानबाटै दिइनु झनै आश्चर्य हो ।
विष्टलाई संघको रकमबाट लैजानैपर्ने तथा अध्यक्ष चन्द, पूर्वकप्तान दास र खेलाडी लामिछानेलाई अन्य खेलाडीको भन्दा बढी सुविधा दिनुको औचित्य अझै पुष्टि भएको छैन । जबकि, उनीहरू सबैलाई आइसिसीले नै सुविधा उपलब्ध गराएको थियो । सो निर्णयसँगै क्रिकेटसँग सरोकार नै नभएकाहरूको भ्रमणमा क्यानको रकम दुरुपयोगले पनि क्यान नेतृत्वको गलत नियतलाई प्रष्ट पारेको छ ।
हुन त खेलाडीका रूपमा राम्रो छवि भए पनि प्रशिक्षकका रूपमा खासै कुनै उपलब्धि नदिलाएका विष्ट दोस्रो तहका थुप्रै अधिकृतको वरिष्ठता मिच्दै राष्ट्रिय टिम तयारी समितिको निर्देशक बनेका हुन् । प्रायः स्टार खेलाडीले रिटायर्डमेन्टपछि तल्लो तहमा नै खेलाडी उत्पादनमा चासो दिने गरेको भए पनि विष्टको हकमा त्यो लागू हुँदैन । प्रशिक्षकका रूपमा यस्ता कुनै महत्वपूर्ण र विशेष काम नगरे पनि विष्टलाई पदमा पु¥याउन वरिष्ठतासमेत मिचिएको थियो । यसका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भूमिका खेलेका थिए ।
स्मरणीय छ, साग स्वर्ण पदकधारी कुशल श्रेष्ठले नेपाली कराते प्रशिक्षकका रूपमा माथिल्लो उचाइ दिलाएका छन् भने संगीना वैद्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउनुका साथै लामो समय घरेलु प्रतियोगितामा नेपाल आर्मी क्लबलाई अपराजेय राखेकी थिइन् । हाल अमेरिकाका रहेका कराते खेलाडी सुनिल लामाले बालबालिकालाई कराते सिकाउने सोचले नेपालमै च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको स्थापना गरेका छन् ।
प्रतिक्रिया