लन्डन । इंग्लिस प्रिमियरसिप फुटबलको अंक तालिकामा लिभरपुलले अग्रता कायम गरेको छ । लुइस डियाजको २ गोलमा बोर्न माउथलाई ३–० ले हराएपछि लिभरपुलले तालिकामा अग्रता कायम गरेको हो । गत खेलमा नटिङघम फरेस्टसँगको हारपछि एकैपटक घरेलु लिगमा खेलिरहेको लिभरपुलका लागि डियाजले २६औँ मिनेटमा रिबाउन्डमा गोल गरेका थिए । उनले रिबाउन्डमा आएको बललाई खाली पोस्टमा गोल गरेका हुन् । ट्रेन्ड अलेक्जेन्डर आर्नोल्डको पासलाई उपयोग गर्दै कोलम्बियन स्ट्राइकर डियाजले २८औँ मिनेटमा नै दोस्रो गोल गरे । डारियो नुनेजले अर्को गोल गरेपछि लिभरपुलले पहिलो हाफमा नै ३–० को अग्रता लिएको हो ।
अर्को खेलमा निकोलास ज्याक्सनले २ गोल गरेपछि चेल्सीले वेस्टहामसँगको अबे खेलमा ३–० को जित हात पारेको छ । वेस्टहामको लगातार तेस्रो घरेलु भूमिमा हार हो । चेल्सीका लागि कोल पाल्मरले तेस्रो गोल गरे । चौथो मिनेटमा ज्याक्सनले पहिलो गोलको अग्रता दिलाएका थिए भने १४औँ मिनेटमा उनैले अर्को गोल गरेका थिए । ज्याक्सनले नै दिएको चलाखीपूर्ण पासलाई उपयोग गर्दै पाल्मरले दोस्रो हाफको सुरुआतमा नै गोल गरे ।
लिचेस्टर सिटीसँग १–१ गोलको बराबरी गर्दै एभटरनले सिजनको पहिलो अंक बटुलेको छ । यी दुवै टोलीले अहिलेसम्म जित हात पार्न सकेका छैनन् । एभरटनलाई राम्रो सुरुआत दिलाउने क्रममा १२औँ मिनेटमा एस्ली योङको पासमा इलियाम निदियासले गोल गरे । दोस्रो हाफमा लिचेस्टरका स्टिभी माभिदिदीले गोल गरे । इंग्लिस प्रिमियर लिगकै शनिबार भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र त्रिस्टल प्यालेसबीच गोलरहित बराबरी भएको छ ।
यस सिजनका सानदार सुरुआत गरेको न्यु क्यासलले भने पहिलो पराजयको सामना गरेको छ । शनिबार नै फुलहामले न्यु क्यासललाई ३–१ ले हरायो । पाँचौँ मिनेटमा राउल गिमिनेचजको उत्कृष्ट गोलमा अग्रता लिएको फुलहामका लागि २२औँ मिनेटमा एमिली स्थिमले गोल गरे ।
पहिलो हाफमा खराब प्रदर्शन गरेको न्युक्यासल दोस्रो हाफ सुरु भएको २८ सेकेन्डमा नै अन्तर घटाउन सफल भएको थियो । न्युक्यासलका लागि हार्भे बार्नेसले गोल गरेका हुन् । इन्जुरी समयमा फलहामका नेल्सनले गोल गरे ।
अर्को खेलमा डोमेनेक सोलान्केले सिजनको पहिलो गोल गरेपछि टोटनहाम हस्टस्पर्सले कम ब्याक गर्दै ब्रेन्ट फोर्डलाई ३–१ ले हराएको छ । २३औँ सेकेन्डमा केविन लेविस पोर्टरको पासमा ब्रायन एमब्युमोले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । आठौँ मिनेटमा सोलान्केले गोल गरेका हुन् । त्यसपछि दबाब दिइरहेको टोटनहामका लागि २८औँ मिनेटमा ब्रेनन जोन्सनले अर्को गोल गरे । खेल सकिन ५ मिनेट बाँकी छँदा जेम्स म्याडिसनले अर्को गोल गरे ।
अस्टन भिल्लाले अन्तिम समयमा २ गोल गर्दै भिल्ला पार्कको घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई ३–१ ले हरायो । पहिलो हाफमा बलियो देखिएको उल्भ्सले २५औँ मिनेटमा म्याथ्यु कुन्हाको गोलमा अग्रता लिएको थियो । ७३औँ मिनेटमा ओले वाटकिन्सनको गोलमा भिल्ला खेलमा फर्किएको हो । ८८औँ मिनेटमा एर्जी कोन्साको गोलमा अग्रता लिएको भिल्लाका लागि जोहन डुरानले अन्तिम गोल गरे ।
साउथहाम्टाउन र इप्सबीच टाउनबीचको खेलमा १–१ गोलको बराबरी भएको छ । ५ खेलमा लिभरपुलले १२ अंक जोडेको छ । भिल्लाले ५ खेलमा १२ अंक नै जोडेको भने ५ खेलमा १० अंक जोडेको चेल्सी पछि परेको छ । समान १० अंक रहेको न्युक्यसाल युनाइटेड छैटौँ स्थानमा छ ।
रियल म्याड्रड विजयी
स्पेनिस ला–लिगा फुटबलमा भने रियल मड्रिडले सानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो । रियल मड्रिडका लागि डानी कारभाजल, रोड्रिगो, भिनिसियस जुनियर र किलियन एम्बाप्पेले गोल गरे ।
त्यस्तै इस्पोनियलका लागि १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । रियल मड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए । यो जितपछि रियल मड्रिडको ६ खेलबाट १४ अंक भएको छ । स्पोनियलको ७ अंक छ ।
केरी केनको कीर्तिमान
जर्मनीको बुन्डेस लिगामा लिडर बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा ब्रेमेनमाथि म्युनिखले ५–० को सानदार जित निकालेको हो । बायर्नको जितमा इंग्लिस खेलाडी ह्यारी केनले कीर्तिमान रचेका छन् ।
केनले बुन्डेसलिगाको सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडीको रूपमा जाडोन सान्चोभको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाए ।
सान्चोले बोरुसिया डर्टमुन्डबाट ४० बुन्डेसलिगा गोल गरेका थिए । सो सफलतम पाउन उनलाई ११८ खेल खेल्नुपरेको थियो । केनले म्युनिखको लागि अहिलेसम्म ३६ खेलमा ४१ गोल गर्दै सान्चोभको कीर्तिमान भंग गरिदिएका हुन् । खेलमा शनिबारको खेलमा बायर्नको लागि केनबाहेक माइकल ओलिसेले २ गोल गरे भने जमाल मुसियाला र सर्ज गनब्रीले पनि गोल गरेका थिए ।
जितपछि यो सिजन ४ खेलमा अपराजित रहँदै बायर्न १२ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।
प्रतिक्रिया