एसियन कराते च्याम्पियनसिपमा एरिकाले नेपाललाई दिलाइन् पहिलो रजत पदक

काठमाडौं । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छन् । चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अंकले पराजित भइन् ।

यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अंकले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । एसियन कराते फेडरेसनले आयोजना गरेको एसियन च्याम्पियनसिपमा एरिकाले प्राप्त गरेको रजत पदक नै नेपालका लागि पहिलो हो ।

अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका छैनन् । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने व्रिटोलाई ४–० अंकले पराजित गरेकी थिइन । उनले क्वाटरफाइनल खेलमा कजाकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया