ओटावा । आइसिसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग १ विकेटले पराजित भएको छ । नेपालले दिएको २२१ रनको लक्ष्य ओमनले १ बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पूरा गरेको हो । नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा २ मेडनसहित ४७ रन दिएर ५ विकेट झारेका हुन् । बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बने ।
क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओपनिङ कमजोर देखिएको नेपालको मध्यक्रम सम्हालिएर पूरै ५० ओभर खेल्दा सम्मानजनक योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक बनाए । कप्तान पौडेलले ७२ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६० रन बनाउँदा गुल्सनले ३५ बलको सामना गर्दा ५३ रन जोडेका थिए ।
नेपालका लागि सम्हालिएर खेलेका आरिफ शेखले ८८ बलको सामना गर्दै ३५ रन बनाए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल बेन्चमा रहेको खेलमा अर्जुन साउद, आरिफ शेख र अनिल शाहले खेल्ने मौका पाएका थिए । गुल्सनले ५ विकेट लिएको खेलमा नेपालका लागि करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट हात पारे । क्यानडामा जारी सिरिजको यो शृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो ।
तालिकामा नेपाल ६ खेलमा २ अंकसहित ८ टोली मध्ये सातौँ स्थानमा छ । नेपालभन्दा पछि युएई मात्र छ । युएईले ४ खेलमा कुनै अंक जोडेको छैन । ८ खेलमा नेदरल्यान्ड्सले १२ अंकसहित अग्रता कायम गरेको छ । यसैगरी ९ खेलमा १० अंक जोडेको क्यानडा दोस्रो स्थानमा छ । ७ खेल मात्र खेलेको स्कटल्यान्डको ९ अंक छ । अमेरिकाले ६ खेलमा ८ अंक जोडेको छ । नेपाललाई हराएको ओमन भने ५ खेलमा ५ अंकसहित छैटौँ स्थानमा छ ।
गुल्सनको कीर्तिमान
गुल्सनले सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा ५ विकेट लिनुका साथै अर्धसतक प्रहार गरेर कीर्तिमान पनि कायम गरेका छन् । उनले लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पारे ।
उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारेका हुन् । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।
पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए ।
यस्तै, वेस्ट इन्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अस्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।
प्रतिक्रिया