धेरै धन कमाउनुका अर्थ त्यस समयमा हुन्छ, जब धन कमाउन नसक्नेहरूको समस्यामा सो धन काम लाग्छ । अझ भनौँ कला र खेलकुद त्यस्तो क्षेत्र हो, जसको आम्दानीको मूल कारण नै भावानात्मक भएर अनुत्पादक क्षेत्रमा धेरैले खर्चिएको समय र पैसा दुवै हुन्छ । त्यसै कारण धनी हुनेहरूले समाजमा रहेका गरिबहरूका लागि आफूलाई समर्पित गर्छन् ।
सन् २००० मा अमेरिकी पौडीवाज एन्थोनी एरभिनले ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । त्यसको केही वर्षपछि थाइल्यान्डमा सुनामी आएको समयमा त्यसै स्वर्ण पदक बेचेर खर्च गरेका थिए । जत्ति सम्पन्न भए पनि आफ्नै देशमा गएको बाढीपहिरो र भुइँचालोमा समेत चासो नजाने स्टारलाई स्टार ठान्ने देश होइन, फरक देशका साँचो स्टारको यहाँ चर्चा गरिएको छ ।
हो, उनका बाबु स्थानीय फुटबलमा सामान बनाउने काम गर्थे, अनि आमा अरूको घरको भान्सामा काम गर्ने । छोरा संसारको सबैभन्दा लोकप्रिय खेलको सबैभन्दा लोकप्रिय खेलाडी । सन् १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डोको बाल्यकाल सहज थिएन ।
बाबुको व्यवसायका कारण छोरा रोनाल्डो सानोमा नै फुटबल मोह भएका व्यक्ति हुन् । १२ वर्षको उमेरमा उनलाई पोर्चुगलको फुटबल क्लबले त्यहाँबाट लिएर गएको थियो ।
त्यसै गरिब परिवारका रोनाल्डोको लागि यो शताब्दीको सुरुआतमै १६ वर्षको उमेरमा सन् २००१ मै संसारको पायनियर शक्ति म्यानचेस्टर युनाइटेडले १४ मिलियन अमेरिकी डलरमा सम्झौता गरेको थियो ।
गरिबीबाट हुर्किएका यी खेलाडीले फुटबलमा मात्र होइन समर्थकहरूको माझमा आफ्नै भिन्न छवी बनाए । संसारका लोकप्रिय व्यक्ति मध्यको एकको रूपमा रहेका छन् । गत महिना उनले युट्युब च्यानल खोलेको १ दिनमा नै १ करोड सब्सक्राइबर पुगेपछि रोनाल्डोको नाममा सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनेको हो ।
गरिबीबाट हुर्किएका खेलाडीले फुटबलमा मात्र होइन समर्थकको माझमा आफ्नै भिन्न छवि बनाएका छन् । युट्युब च्यानल खोलेपछि सामाजिक सञ्जालका विभिन्न रेकर्ड तोडेका रोनाल्डो यत्तिबेला चर्चामा छन् ।
उनले सन् २०१० मा क्रिस्टियानो रोनाल्डो फाउन्डेसन स्थापना गरेका थिए । संसारभरी रहेका सिमान्तकृत बच्चाहरूलाई स्वास्थ्य, रोजगारी र खेलकुदमा सहयोग गर्ने फउन्डेसनको उद्देश्य हो । पोर्चुगल, स्पेन र इटालीलगायत संसारका धेरै देशको उनको फाउन्डेसनका परियोजनाहरू सञ्चालन भइरहेका छन् । फाउन्डेसन बाढी पहिलो र भुइँचालोलगायत प्राकृतिक विपत्तीमा अप्ठेरोमा परेकाहरूलाई पनि सहयोग गरिरहेको छ ।
ब्राजिलमा जन्मिएका युएफसी फाइटर जोसे अल्डो संसारका स्थापित अर्का खेल व्यक्तित्व हुन् । उनको पनि बाल्यकाल सहज थिएन । मानुएसमा जन्मिएका उनका बाबु इँटा पार्ने काम गर्थे भने आमा गृहिणी मात्र हुन् ।
उनी सानो रहँदा नै उनको आमा र बाबु छुट्टिएका थिए । बाबुसँग बसेका उनी सडकमा कुस्ती खेल्नमा व्यस्त हुन थालेका थिए । केही नयाँ कुरा सिक्ने रहर भएका उनमा गरिबीका कारण त्यो सम्भव भएन । यसै कारण उनी जिजित्सु खेल्न पुगेका थिए । यस खेलमा नै उनले सबै कुरा सिके ।
त्यसपछि नै उनी रियो द जेनरियो पुगेका थिए । रियो द जेनरियोमा पुग्दा पनि उनका लागि २ छाक खानका लागि समस्या थियो । त्यही पुगेर उनले युएफसी र डब्लुइसीको फेदर वेट च्याम्पियन हुने मौका पाए ।
गरिबीमा जन्मिएका उनी सम्पन्न भइसकेपछि संसारका रहेका अन्य गरिबको सहयोगार्थ च्यारिटीमा सक्रिय छन् । सन् २०१६ मा उनले आफ्नो देशमा गएर गरिबीमा बिताउनेका लागि सहयोगार्थ च्यारिटी फुटबल म्याच पनि खेलेका थिए । रोनाल्डोजस्तै उनका कारण पनि अहिले धरै जना गरिबीबाट बाहिर निस्कन प्रयास गरिरहेका छन् ।
व्यावसायिक मुक्केबाज कसिम ओउआको कथा त अझ अर्कै छ । सन् १९७८ मा युगान्डाको पनि अत्यन्त गरिब परिवारमा उनी जन्मिएका थिए । त्यत्तिकै कठिन जिन्दगी बिताएका उनलाई ५ वर्षको उमेरमा अपहरण गरेर राष्ट्रिय रेसिस्टेन्स आर्मीमा आबद्ध गराइयो । यसबाट नै उनले डरलाग्दो कुरा सिकेका थिए । ३ वर्षपछि परिवारसँग भेट भएका उनी कुनै पनि कुराबाट डराउन छाडीसकेका थिए ।
त्यसपछि युगान्डाको सैन्य र झडपको बाटो छाडेर उनी सन् १९९८ मा अमेरिका गए । त्यहाँ उनको १ सूत्रीय अभियान बक्सिङ खेल्ने नै हो । यसपछि नै उनले बक्सिङ खेलेर पैसा कमाउने तथा त्यसै आर्थिक समृद्धिको आडमा परिवारलाई खुसी दिने जमर्को गरे । सन् २००४ मा उनले आइबिएफ विश्व जुनियर मिडलवेट उपाधि जिते ।
पछिल्लो समय व्यावसायिक मुक्केबाज भएपछि उनले धेरै पैसा कमाएका थिए । सोही पैसाको धेरै रकम उनले युगान्डामा गरिबीमा बिताउनेहरू माथि सहयोग गरेका थिए । क्युबामा जन्मिएका यासाइ पुगेइको अवस्था फरक छ ।
एकदमै खराब जीवनयापनको अवस्थाको बीचमा पनि उनको सपना अमेरिका गएर बेसबल खेल्ने नै थियो । क्युबाका लागि धेरै खेल खेलेका उनको त्यहाँ रहँदाको कमाइ मासिक १७ डलर मात्र थियो । यस कठिन अवस्थामा बाच्नै नसक्ने भएपछि उनी सन् २०१२ मा अमेरिका जाने निर्णयमा पुगेका हुन् । यस निर्णयमा मेक्सिकोकोमा सीमाबाट पार गराउने र लागूऔषध कारोबार गर्नेमा फन्दा उनी परेका थिए । पछि उनले वार्तामार्फत छुटकारा पाएका थिए ।
अमेरिका पुगेर उनले डगर्सका लागि खेले । त्यहीँबाट कमाएको पैसाले उनले क्युबामा रहेका धेरै गरिब बालबालिकाको जीवनका लागि अहिलेसम्म सहयोग गरिरहेका छन् । थुप्रै गरिबहरूको उद्धारमा आफूहरू सक्रिय भएर लागि रहेका छन् । उनको अहिले पनि एउटै चाहना छ, आफू लागेको क्षेत्रमा केही गर्नका लागि अत्यन्त धेरै संघर्ष गर्न नपरोस् ।
जोसे अल्डोजस्तो बिबियानो फर्नान्डेजको जन्म पनि ब्राजिलको मानुएसमा भएको थियो । ७ वर्षको हुँदा उनको आमाको निधन भएको थियो। उनका बाबु पनि ५ छोराछोरीलाई त्यत्तिकै छाडेर हिँडे । सडकमा माग्दै हिँडेर पनि भोक टार्न नसकेपछि उनी अमेजन जगलमा सिकारका लागि गएका थिए ।
उनका दाजुभाइले नै लामो समय जंगलमा नै बिताएका थिए । रोगका कारण झन्डै ज्यानै गएपछि उनी सहर भित्रिएका थिए । डोजो नजिकै सडक बित्तिकै छेउमा झन्डै कारले ठक्कर दिएपछि उनले सुसज्जित मार्सल आर्टमा लागेका थिए । सुसज्जित मार्सल आर्टको संसारको टप फाइटरसमेत भए । तीनपटक एएमए फाइटर भएका उनी पछिल्लो समय क्यानडाका प्रशिक्षणमा संलग्न छन् ।
कठोर संघर्ष र गरिबीका माझ पनि आफूलाई स्थापित गराउने संसारका नाममध्येका यी केही हुन् । त्यो सही स्टार हो, जो कठिन परिस्थितिमा पनि आफूलाई स्थापित गराउन सक्छ । स्थापित भइसकेपछि आफ्नो रकम र कमाइको केही अंक गरिबीमा हुर्कनेहरूकै लागि समर्पित गरोस् ।
संसारमा हिपप संगीत र रक संगीत भित्रिएसँगै यसले क्यारेबियन र दक्षिण अफ्रिकामा भिन्न प्रभाव छाडेको थियो । ७० को दशकपछि अझ ब्राजिल त यस्तो अवस्थामा थियो, जहाँ राजनीतिक रूपले अस्थिरता थियो । समाजिक असमानता थियो । गरिबी व्याप्त थियो । देशमा संकटै संकट थियो । यसैबीच गरिबीको माझमा काका जन्मिएका थिए ।
गरिबहरूलाई हिपपले आन्दोलन गराइरहेको थियो । जागृत गराइरहेको थियो । केही गर्ने उत्साह दिइरहेको थियो । त्यसै गरिबीमा कामा पनि जन्मिएका थिए । जो सन् २००० को दशकको मध्यमा संसारमा सबैभन्दा रुचाइएका फुटबलर थिए । संसारको उनको आकर्षण थियो । चाहे त्यो बार्सीलोनामा होस् या एसि मिलानमा रहँदाको समयमा होस् ।
बालोन डोर अवार्ड, विश्वकप र युइएफए सुपर कप, फिफा क्लब विश्वकपलगायत अनेकाँै उपाधि भएका हंसमुख भएका यिनका लागि ३०औँ दशक पार नगर्दै उनी आफैँका लागि गरिबी भन्ने शब्द धेरै टाढाको विषय थियो । तथापि उनको मानसपटलले आफूले भोगेको गरिबी भने हटेको थिएन ।
उनको चेतनाले आफूले बाल्यकालमा बिताएको गरिबी अन्य धेरैले बिताइरहेको हुन सक्ने आभाष भएको थियो । उनको चाहना सन् २००४ मा संयुक्त राष्ट्र संघले पूरा गरिदिएको थियो । राष्ट्र संघले उनलाई गरिबी निवारणको दूत चयन गरेको थियो । यसलाई उनले आफूले पाएका सबै उपाधिभन्दा गरिबका लागि समर्पीत हुने अवसरको रूपमा खुसी र भाग्य ठाने । उनले पनि आफ्नो संस्थामार्फत धेरै च्यारिटीका काम गरेका छन् । करिब २ दशक यता काकाको जीवन नै गरिबीले भोको पेट हुनेहरूको पेट भर्नका लागि समर्पित छ ।
प्रतिक्रिया