काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्यपदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच ऐतिहासिक पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिए ।
सो सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबुआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्यपदक जितेकी थिइन् ।
प्रतिक्रिया