काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपको लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रीस महिला सुपर लिग क्लब नीस एट्रोमिटौले सिजन २०२४/२५ का निम्ति अनुबन्ध गरेको हो ।
सम्झौता रकम भने गोप्य राखिएको छ । अञ्जिलाले नेपालसँगै भारत र पाकिस्तानको लिग खेलिसकेकी छन् । उनले पहिलोपटक एसियाबाहिर खेल्न लागेकी हुन् ।
विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्नेछिन् । यसअघि, महिला टिमकै स्ट्राइकर सावित्रा भण्डारीले युरोपको लिग खेलेकी थिइन् ।
अञ्जिला ग्रीसको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् ।अञ्जिलाले यसअघि भारतको लिग दुई सिजन खेलिसकेकी छन् । उनले पाकिस्तानको लिग पनि एक सिजन खेलेकी छिन् । उनी भारतमा सेथु र पाकिस्तानमा मासा युनाइटेडको कप्तान थिइन् ।
प्रतिक्रिया