टि–२० विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको जित हासिल गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो । बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् ।

त्यस्तै महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे ।

त्यसैगरी डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बंगलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।

यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा ६ अङ्क बटुलेको छ । पराजित बंगलादेशको दुई खेलमा दुई अंक नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अंक नै छ ।

नेपाल र श्रीलंका अंकविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलंकाबीचको खेल भोलि (शुधबार) बिहान नेपाली समयअनुसार ५ः१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया