धनुषा जिल्ला लिग फुटबल सुरु

जनकपुरधाम । जनकपुरधाममा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएको छ । जिल्ला फुटबल संघको आयोजनामा जनकपुरधाम–१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा जिल्ला लिग शनिबारदेखि सुरु भएको हो । १० टिम सहभागी खेल अषाढ ४ गतेसम्म सञ्चालन हुने छ ।

जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज साहले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै जनकपुरधामको खेलकुद विकासकालागि उप महानगर भित्र ५ खेल मैदान व्यवस्थित गर्ने योजना अगाडि बढाएको बताए । खेलकुदको विकासकालागि राजनीति दल एकमत हुनु पर्ने मेयर साहले बताए । पहिलो दिनको खेल जनकपुरधाम स्पोर्टस र बेगांडाबर बीच भएको खेल ३÷३ गोलको बराबरीमा टुंगिएको छ । जनकपुरधाम स्पोर्टसको तर्फबाट शिव माझी २ गरे भने बेगांडाबरको तर्फबाट धनबहादुर मगर २ र पशाङ लामाले १ गोल गरे ।

जनकपुरधाम स्पोर्टसको तर्फबाट २ गोल गरेका १७ नम्बरका खेलाडी शिव माझी म्यान अफ द म्याच चुनिए । आइतबारको खेल यज्ञभुमि युवा समाज धारनपानिसंग उन्नतिशिल मुडिवाले प्रतिस्पर्धा भएको जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए ।

प्रतिक्रिया