कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडाैं । कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ । गए राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

टस जितेर सुरुवाति ब्याटिङ गरेको हैदरावाद ११३ रनमा अलआउट भएको थियो । ११४ रनको विजय लक्ष्या पछ्याएको कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमै लक्ष्य पूरा गर्दै उपाधि जितेको हो ।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । त्यस्तै एडेन मारकरम २०, हेनरिक क्लासेन १६ तथा नितिश कुमार रेड्डीले १३ रन बनाउनेबाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ट्राभिस हेड शून्य रनमा आउट भएको खेलमा अभिषेक शर्माले २, राहुल त्रिपाठीले ९, सहवाज अहमदले ८, अब्दुल समदले ४ तथा जयदेव उनादकटले ४ रन जोडे । भुवनेश्वर कुमार शून्य रनमा नटआउट रहे ।

कोलकाताका लागि आन्द्रे रशेलले ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्क र हर्सित रानाले २/२ विकेट लिए । वैभव अरोरा, सुनिल नरेन र वरुणु चक्रवर्तीले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका बैंकटेश ऐयरले अविजित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै रहमानुल्लाह गुरबाजले ३९ रन जोडे भने सुनिल नरेन ६ रनमा आउट भए । श्रेयस ऐयर ६ रनमा अविजित रहे ।

हैदरावादका लागि प्याट कमिन्सले १ तथा सहवाज अहमदले १ विकेट लिए । यससँगै कोलकाताले तेस्रोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१२ र २०१४ मा कोलकाता च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया