विद्युत् चुहावट विद्युत् प्राधिकरण धनुषाको मुख्य चुनौती

सुनील महतो, प्रमुख – नेपाल विद्युत् प्राधिकरण धनुषा

जनकपुरधाम । विद्युत् चुहावटलाई रोक्नु नै नेपाल विद्युत् प्राधिकरण धनुषाको मुख्य चुनौती रहेको छ । प्राधिकरणको कार्यालय प्रमुख सुनील महतो आफूले जिम्मेवारी सम्हालेदेखि यसको सुधारका लागि लागेको बताउँछन् । महतो भन्छन्, ‘ग्राफमा विद्युत् चुहावट देखिएको भए पनि ग्राफलाई बढाउने तत्वहरूमा नै निगरानी बढाएका छौँ, बिस्तारै कम हुँदै जाने देखिन्छ ।’

७४ हजार सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्नु चानचुने कुरो होइन तर नेपाल विद्युत् प्राधिकरण धनुषा वितरण केन्द्रले कामलाई चुस्त बनाउँदै लगेको कार्यालय प्रमुख महतो बताउँछन् । प्राधिकरणको कार्यालय प्रमुखको जिम्मेवारीमा आएदेखि उनी झन् दिन र रात नभनी विद्युत् सेवालाई भरपर्दो बनाउन खटिइरहेको उनको भनाइ छ ।

मधेस प्रदेशको राजधानी भएकोले पनि धनुषाको विद्युत् आपूर्ति संवेदनशील मानिन्छ, त्यसमा पनि ७४ हजार सेवाग्राहीको चित्त बुझाउनु सजिलो कुरा होइन । चालु आर्थिक वर्षमा हालसम्म धनुषामा ८८ करोड ४० लाख ७५ हजारभन्दा बढी विद्युत् महसुल संकलन भइसकेको छ । नेविप्रा धनुषाले गत वर्ष सय करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा पनि सय करोड नाघ्ने निश्चितजस्तै रहेको तथ्यांकले देखिएको महतो बताउँछन् ।

अधिकांश ग्राहकले नियमित विद्युत् महसुल तिर्ने गरेका छन् तर ६० दिनसम्म पनि विद्युत् महसुल नतिर्ने ग्राहकको संख्या करिब २ हजार १ सय रहेको छ । समयमा विद्युत् नतिर्ने ग्राहकलाई कार्यालयले कालोसूचीमा राख्ने गरेको छ । हाल यस कार्यालयअन्तर्गत २ हजार १४० ग्राहक कालोसूचीमा परिसकेका छन् । घरका सबै सदस्य बाहिर रहने तथा कतिपय कारणले विद्युत्को उपभोग गर्न छाडेका घरका ग्राहक पनि कालोसूचीमा परेका छन् । २३ दशमलव ६६ प्रतिशत विद्युत् चुहावटलाई रोक्नु यस कार्यालयको मुख्य चुनौतीको विषय रहेको छ । कार्यालय प्रमुख महतो भन्छन्, हामीले काम गरिरहेका छौँ, बिस्तारै यो ग्राफ कम हुँदै जानेछ ।’

प्रदेशको राजधानी भएको कारणले नेविप्रा धनुषा, जनकपुरधामले हरेक समस्यामा तुरुन्त नै ध्यान दिनुपर्ने हुन्छ । विद्युत्को समस्या आउँदा दिन र रात सेवा दिने गरेको महतोले बताए । अधिक महसुल बाँकी राख्नेको निर्देशनअनुसार लाइन काट्ने तथा नियमानुसार काम भएमा फेरि जोड्नुपर्ने हुन्छ । सम्भव भएसम्म प्राधिकरणले कसैको घर, कार्यालय वा उद्योगको लाइन काट्न चाहँदैन । मौका दिएको हुन्छ तर प्राधिकरणमा सम्पर्क नगर्ने तथा महसुल तिर्न उदासीन हुनेको लाइन काटिने गर्दछ ।

हरेक दिन नयाँ किसिमको समस्या आउने गरेको नेविप्रामा ग्राहकको संख्या अत्यधिक रहेको छ । सबै किसिमको ग्राहक भएकाले सबै किसिमको समस्या आउने गरेका छन् तर लाइन काटिने समस्याको विषयमा अलिकति बढी आक्रामक गुनासो हुने गरेको विद्युत् प्राधिकरणको बुझाइ छ । हरेक ग्राहकले समयमा विद्युत् महसुल तिरिदिने र आफ्नो आसपासमा भइरहेको विद्युत् चुहावटबारे सूचना दिई सहयोग गर्न कार्यालय प्रमुख महतोको अनुरोध छ ।

प्रतिक्रिया