नयाँ पर्यटकीय गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर

हाइकिङ भनेको लखरलखर उकालो ओरालो हिँड्नु मात्रै होइन । यो त रमाइलो यात्रा पनि हो, जहाँ पैदल यात्राका लागि रमाइलो बाटो होस् । बाटोमा चराचुरुंगीको चिरबिर आवाजले मनमा एकप्रकारको ऊर्जा थपियोस् । गन्तव्यमा पुगेपछि यस्तो सुन्दर दृश्य देखियोस् आँखाले सौन्दर्य पान गर्दागर्दै लखतरान परेका शरीरका अंग प्रत्यंग पनि तन्दुरुस्त बनुन् । यस्तै चाहनाका साथ हाइकिङमा निस्कने आन्तरिक यात्रीहरूको लागि रोजाइको गन्तव्य बन्न सक्छ लटारम्मेश्वर ।

पछिल्लो समय हाइकिङमा रमाउन चाहने मानिसहरूको ताँती बढ्दो छ । हाइकिङ भनेको लखरलखर उकालो ओरालो हिँड्नु मात्रै होइन । यो त रमाइलो यात्रा पनि हो जहाँ पैदल यात्राका लागि रमाइलो बाटो होस् । बाटोमा चराचरुंगीको चिरबिर आवाजले मनमा एकप्रकारको ऊर्जा थपियोस् । गन्तव्यमा पुगेपछि यस्तो सुन्दर दृश्य देखियोस् आँखाले सौन्दर्य पान गर्दागर्दै लखतरान परेका शरीरका अंग प्रत्यंग पनि तन्दुरुस्त बनुन् । यस्तै चाहनाका साथ हाइकिङमा निस्कने आन्तरिक यात्रीहरूको लागि रोजाइको गन्तव्य बन्न सक्छ लटारम्मेश्वर ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर संघीय राजधानी काठमाडौँबाट छोटो दुरीमा नै पुग्न सकिने रमणीय गन्तव्यको रूपमा विकास हुँदै गएको नयाँ पर्यटकीय स्थल हो । सहरको धुलो, धुवाँ र कोलाहलबाट मुक्त भएर शान्त ठाउँमा घुम्ने सोच बनाउनेहरूका लागि आकर्षणको केन्द्रबिन्दु पनि हो यो ठाउँ । यो एक रोमाञ्चक पदमार्ग अनि धार्मिक पर्यटकीय स्थल पनि हो । अझ भनौँ मन शान्त बनाउन पुग्नैपर्ने एउटा पहाडको रमणीय चुचुरो हो । यो एउटा महत्त्वपूर्ण त्यस्तो गन्तव्य हो, जहाँ पुगेपछि देखिने मनमोहक दृश्यले सारा थकान भुलेर मनै आनन्दित तुल्याउँछ ।

काठमाडौँबाट लटारम्मेश्वरसम्म पुग्न कान्तिराजपथको बाटो ४५ किलोमिटरको यात्रा सकेपछि यो रमणीय ठाउँमा पुग्न लगभग १ घण्टा पैदल हिँड्नुपर्छ । आन्तरिक पर्यटकहरूका बीचमा डब्लु डाँडा भनेरसमेत परिचित यस ठाउँको शिखरमा पुगेर रमणीय दृश्य अवलोकन गर्दा स्वर्गको एक अंश भनेर व्याख्या गर्न मन लाग्छ । यति मात्रै होइन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि हाइकिङको लागि पहिलो रोजाइको केन्द्र बन्दै गएको छ ।

हेटौँडा र काठामाडौँबाट उत्तिनै दुरीमा पर्ने यस लटारम्मेश्वरमा दिनहुँ सयौँ मानिसहरू मन्दिर दर्शन गर्न, घुम्न तथा ट्रेकिङ गर्नसमेत आउने गरेको स्थानीय श्रीराम कठायत बताउँछन् । उनका अनुसार उक्त धार्मिक स्थल लटारम्मेश्वर महादेवको पूजाआजा गर्न पहिल्यैदेखि नै देशका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्थे । तर, पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकारले उक्त पर्यटकीय गन्तव्यको स्तरोन्नतिमा चासो देखाएसँगै आन्तरिक पर्यटकको आवागमनसमेत बढ्दै गएको उनको भनाइ छ ।

नयाँ पर्यटकीय हब

लटारम्मेश्वरलाई बागमती प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय हबको रूपमा विकास गर्नका लागि प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मकवानपुरको भीमफेदी गाउँपालिकाले चासो देखाएको छ । जसका कारण लटारम्मेश्वर नयाँ पर्यटकीय हबको रूपमा विकास हुँदै गएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । यस ठाउँको विकासका लागि डिपिआर निर्माण गरेर काम अघि बढाउन लागेको पनि अध्यक्ष लामाले जानकारी दिए । उनले भने, ‘चिसो मौसम, काठमाडौं उपत्यका तथा मकवानपुरसहित अन्य जिल्लाको दृष्य अवलोकन गर्न सकिने, धार्मिक स्थलसमेत रहेको लटारम्मेश्वर महादेव मन्दिर परिसरलाई हामी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेका छौँ । जसका लागि प्रदेश सरकारले पनि साथ दिइरहेको छ ।’ उनले त्यस क्षेत्रमा दर्शन गर्न आउने, घुम्न आउनेका लागि विश्रास्थल, खानेपानीको प्रबन्ध गरिएपछि पर्यटकहरूका लागि अझै सहज भएको बताए ।

यस्तो छ प्रदेश सरकारको योजना

यता, प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले यस क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने योजना तयार पारेको बताएको छ । प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यमा विभिन्न कार्ययोजना बनाएर जाने तयारी गरेको वागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।

नयाँ पर्यटकीय हबको रूपमा विकास हुँदै गएको लटारम्मेश्वर डाँडा आफैँमा प्राकृतिक भ्यू टावरको रूपमा रहेको भन्दै मन्त्री बज्राचार्यले यहाँ अझै पूर्वाधार, बाटो र पाहुनाका लागि बास बस्ने होमस्टेजस्ता योजनामा समावेश गर्ने योजना रहेको बताए । धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको यस क्षेत्रको भौतिक विकासका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८१/०८२ मा छुट्याउने मन्त्री बज्राचार्यको भनाइ छ ।

कसरी पुग्ने ?

काठमाडौँ र हेटौँडा दुवैतर्फबाट कान्तिलोकपथ मार्ग हुँदै ४३ किलोमिटरको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ । त्यहाँबाट आर्मी क्याम्प हुँदै ८ किलोमिटरको यात्रापछि भीमफेदी गाउँपालिका–८ मा रहेको महादेवटार पुगिन्छ । महादेवटारसम्म साना गाडी तथा मोटरसाइकल लान सकिन्छ । त्यसपछि ४ किलोमिटरमा चिलाउने लेक भन्ने स्थानमा पुगिन्छ । उक्त स्थानबाट करिब २ घण्टाको पैदल यात्रापश्चात लटारम्मेश्वर महादेवको मन्दिर पुगिन्छ । शीतल जंगलको बाटोमा फराकिलो सिँढी, बाटोमा पानीका धारा र बीच बाटोमा थकाई मेट्नका लागि बनाइएका प्रतीक्षालयले यात्रा गर्न सहज बनाइदिन्छ ।

धार्मिक इतिहास

हिन्दू धर्मको पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर लिएर हिँडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रूपमा उक्त क्षेत्रलाई लिइन्छ । सतीदेवीको जटा झरेर पतन भएको पौराणिक कथाअनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेव भएको किंवदन्ती छ ।

प्रतिक्रिया