बढ्न सकेन घरजग्गा कारोबार

काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका संकेतहरू देखिए पनि घरजग्गामा आशातीत उपलब्धि हासिल हुन सकिरहेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले सूचकहरू सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार पहिलेकै अवस्थामा आउन नसकेको देखाउँछ । स्वयं व्यवसायीहरू पनि कारोबार माथि उठ्न नसकेको दाबी गर्छन् । झण्डै साढे ३ खर्ब कुल पुँजी रहेको रियल स्टेटको बैंक तथा वित्तीय संस्थाको कुल ऋणको साढे २ खर्ब भनेको कुल ऋणको ४ प्रतिशत जति हुन आउँछ । आवास ऋणको हकमा साढे ६ प्रतिशत जति छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा भने १८ हजार दर्ता भएका देखिएको छ ।

गएको एक वर्षको तथ्यांक हेर्ने हो भने केही प्रतिशत बढेको तर त्यो अत्यन्त न्यून हो । लिखत पारित आशातीत नभएको विभागकै दाबी छ । २०७९ साउनदेखि २०८० वैशाख १५ सम्मको तथ्यांकलाई विश्लेषण गर्ने हो भने कारोबार केही बढेको देखिए पनि सन्तोषजनक छैन । प्राप्त विवरणअनुसार २०७९ साउनदेखि २०८० वैशाख १५ सम्म ९ लाख ४९ हजार ८ वटा लिखत पारित (जग्गा कारोबार) भएका छन् । त्यसबाट २८ अर्ब ९८ करोड ४ लाख बढी राजस्व संकलन भएको छ । यसलाई जग्गा व्यवसायी महासंघ र स्वयं विभाग पनि कारोबार बढेको भन्न नमिल्ने बताउँछ ।

केही बढेको भए पनि जसरी कारोबार हुनुपर्ने होे त्यसरी नभएको भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता एवं निर्देशक वेदप्रसाद अर्यालले बताए । उनका अनुसार यो बीचमा कित्ताकाट नै रोकिएको थियो । जग्गा वर्गीकरणको विषय पनि थियो । पछिल्लो समयमा सहकारीको समस्या थपिएपछि सहकारीमा जनताका धेरै रकम फसेको छ । सहकारी सञ्चालक वा सहकारीका नाममा रहेका घरजग्गा कारोबार हुन सकेन । नागरिकका पैसा पनि सहकारीमा डुबेपछि उनीहरूले पनि लगानी गर्न नसक्दा घरजग्गा कारोबारमा नराम्रो प्रभाव पारेको अर्यालको विश्लेषण छ ।

भूउपयोग नियमावली संशोधन भएर आएपछि र केही आर्थिक सूचकहरू सकारात्मक भएको तथा राष्ट्र बैंकले पनि घरजग्गा कारोबारमा खुकुलो नीति ल्याएपछि भने केही सकारात्मक देखिएको अर्याल बताउँछन् । उनले विगतका वर्षहरूमा ६८ अर्ब रुपौयाँ माथि राजस्व संकलन भएकाले चलायमान हुन त्यो भन्दा माथि जानुपर्छ तर अहिलेसम्मको स्थिति हेर्दा आधा मात्रै राजस्व संकलन भइरहेको छ ।

सरकारले पीडा नसुनेको गुनासो

घरजग्गामा सुस्तता हुनु भनेको यसको कारोबारमा मात्रै असर गर्दैन समग्र अर्थतन्त्र चल्नका लागि पनि असर गर्ने व्यवसायीहरू बताउँछन् । हुन त घरजग्गा कारोबार अनुत्पादक क्षेत्र भए पनि यसले समग्र अर्थतन्त्रको व्यावसायिक वातावरण निर्धारण गर्छ । यसतर्फ सरकारको ध्यान अझै नपुगेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् । अध्यक्ष लोहनीका अनुसार कर्जा आम्दानी अनुपात आवास ऋणको होम लोनको हकमा बढाउनुपर्ने र ऋणको अनुपात पनि बढाउन सकेको भए घरजग्गा र आवास ऋणमा पनि कर्जा जान्छ र कारोबार बढाउनसक्ने परिस्थिति बन्नेछ ।

अहिले आवास ऋण हकमा आम्दानी अनुपात ५० लाख रुपैयाँसम्मको हकमा ६० प्रतिशत र त्यसभन्दा माथि २ करोड रुपैयाँको हकमा ५० प्रतिशत हुने व्यवस्था छ । व्यवसायीका अनुसार जग्गाको मूल्यांकनको हकमा पनि २ वटा व्यवस्था छ । ऋणको अनुपात रियलस्टेटको हकमा ५० प्रतिशत र आवासीय परियोजनाको हकमा ६० प्रतिशत छ । त्यो भने तापनि प्राकृतिक रूपमा बजार मूल्य एकतिहाइभन्दा नहुने भएकाले त्यसले चलायमान गराउनै नसक्ने व्यवसायीको दाबी छ । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारसँग कर्जा आम्दानी अनुपातको हकमा कम्तीमा ८० प्रतिशत र लोनको मूल्य अनुपातको हकमा न्यूनतम ७० प्रतिशत हुनुपर्छ भन्ने माग गर्दै आएको छ । यसअघि २०६६ सालतिर यो ८० प्रतिशत नै थियो । त्यसपछि विस्तारै घटाउँदै कोरोनाको बन्दाबन्दीपछिको अवस्थामा ४० प्रतिशतसम्म झारिएको थियो । पछिल्लो ६ महिनादेखि भने १० प्रतिशत बढाएर ५० प्रतिशतमा पुर्याइएको छ ।

कुन वर्षमा कति कारोबार ?

गएको दुई वर्षको तथ्यांक विश्लेषण गर्दा अघिल्लो वर्षभन्दा १ लाख ९० हजार १०६ बढी घरजग्गा कारोबार भएको छ । त्यसबाट ५ अर्ब १० करोड जति मात्रै राजस्व वृद्धि भएको देखिएको छ । प्राप्त विवरणअनुसार २०७९ साउनदेखि २०८० वैशाख १५ सम्म ९ लाख ४९ हजार ८ वटा लिखत पारित भएका छन् । त्यसबाट २८ अर्ब ९८ करोड ४ लाख बढी राजस्व संकलन भएको छ । २०८० साउनदेखि २०८१ वैशाख १५ सम्मको तथ्यांकमा भने ११ लाख ३९ हजार ११४ घरजग्गा कारोबार भएको छ । त्यसबाट राजस्व ३४ अर्ब ७ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो भनेको सामान्य वृद्धि हो । उत्साहजनक वृद्धि भन्न मिल्दैन । जबकी आव २०७८–०७९ मा १८ लाख १४ हजार ७ सय ३९ घरजग्गा कारोबार हुँदा ६८ अर्ब १८ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत चार वर्षको कारोबार


लिखत पारितका हिसाबले हेर्दा आव २०७६–०७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व संकलन भएको थियो । आव २०७७–०७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब ७ करोड १५ लाख राजस्व संकलन भएको थियो । आव २०७८–०७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । उक्त वर्ष १८ लाख १४ हजार ७३९ घरजग्गा कारोबार भएको छ । त्यस कारोबारबाट ६८ अर्ब १८ करोड ५९ लाख राजस्व संकलन भएको छ । आव २०७९–८० मा झण्डै २६ प्रतिशतले घटेर १३ लाख ३६ हजार ६ सय ३३ घरजग्गा कारोबार भएको छ । त्यसबाट ३७ अर्ब ७५ करोड ८८ लाख राजस्व संकलन भएको छ ।

प्रतिक्रिया