भन्सार नहुँदा सीमा क्षेत्रका नागरिकलाई सास्ती

मधेस ब्युरो । सीमा क्षेत्रमा घर छ, तर कुनै फाइदा लिन सकिएको छैन । सीमाक्षेत्रमा बस्नु नै नागरिकको लागि दुर्भाग्यजस्तो भएको छ । सिमा क्षेत्रमा बस्ने आम नागरिक पीडित छन् । भनिन्छ, ‘बोर्डर खुल्ला छ तर रित्तो हात’ आवातजावत बाहेक अन्य कामको लागि भने निकै समस्या छ । खुल्ला बोर्डर हुने तर बोर्डर हेरेर आँसु चुहाउनेबाहेक अन्य केही पनि नभएको स्थानीयवासीको पीडा रहेको छ ।

रौतहटको बौद्धिमाई नगरपालिका–८ का ओम प्रकाश दास भन्छन्, ‘पसलमा सामान ल्याउनको लागि वीरगंज पुग्नुपर्छ । वीरगंज पुग्नु भनेको रौतहटबाट बारा छिचोलेर पर्सा पुग्नु हो । तर छेवैमा रहेको भारतीय बजार घोडासहनबाट सामान ल्याउन सकिन्न । घोडासहनमा सामान किने पनि कि त गौर भन्सार पुग्नु पर्यो कि त वीरगंज भन्सार भएर आउनुपर्यो,’ उनले भने, ‘सीमा क्षेत्रका नागरिकलाई पीडैपीडा छ । जुन जोगी आए पनि कानै चिरेका भनेझैँ जुन सरकार आए पनि बंकल बजारमा भन्सार पुनस्र्थापना गराउन सकेका छैन ।’

कोही कोही भारतबाट भन्सार छलेर सामान ल्याउँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुःख दिने गरेको गुनासो छ स्थानीयवासीको छ । सीमा क्षेत्रका नागरिकले वारपार गर्दा पनि प्रहरी प्रशासनले आशंकाको नजरले हेर्ने गरेकोमा पनि सिक्षाक्षेत्रका बासिन्दालाई दुःख लागेको छ । दास भन्छन्, ‘सामान्य घरायसी प्रयोगको थोरै सामान ल्याउदा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैलाई अलग अलग पैसा दिनुपर्छ ।’ झोलामा समान्य सामान ल्याउँदा पनि दुःख पाउने गरेको गुनासोे छ स्थानीयको ।

बौद्धिमाई नगरपालिका–७ का अमरदेव साह कानुलाई नेपाल र भारतका सीमाक्षेत्रका बासिन्दाबिच बेटीरोटीको सम्बन्ध रहेकोले जन्तीलाई पनि समस्या पर्ने गरेकोमा चित्त बुझेको छैन । भारतबाट जन्ती आउँदा पनि समस्या हुने गरेको उनले बुझेका छन् । भारतबाट पाँच दश किलो कुनै सामान ल्याउँदा पनि अप्ठ्यारो पर्ने गरेको उनी बताउँछन् । रासायनिक मल, बिउ तथा किटनाशक औषधिमध्ये कतिपय नेपालमा नपाइने गरेको तर सीमावर्ती भारतीय बजारबाट ल्याउँदा निकै समस्या हुने गरेको उनी बताउँछन् ।

यति मात्रै होइन, छोरीचेलीको बिदागरीको समयमा यताबाट उता र उताबाट यता कोसेली ल्याउन लैजान निकै समस्या भएको गुनासो रहेको छ । बंकुल बजारबाट विस्थापित भइसकेको बजारलाई पुनः स्थापित गर्दा राज्यलाई भन्सार राजस्व उठ्ने तथा सीमाक्षेत्रका बासिन्दाले सुविधा पाउने विचार उनको रहेको छ । उनी भन्छन्, ‘भन्सारको पुनस्र्थापना हुने हो भने दुवैतिरका स्थानीय बासिन्दा निकै खुसी हुन्छन् र सरकारलाई पनि राजस्व उठ्छ ।’

‘सरकारलाई राजस्व उठ्ने र पब्लिकले पनि सुविधा पाउने हुँदा बंकुल बजारमा तत्काल भन्सार खोल्नुपर्छ’ स्थानीय शम्भु कुशवाहाले भने । भन्सार नहुँदा दुवै देशका नजिकका सीमाबासीलाई निकै बेफाइदा भएको र झन्झट झमेलामा फस्ने गरेको बताउँदै कुशवाहाले भने, ‘इमर्जेन्सीमा सामान ल्याउन जाँदा पनि समस्यामा पर्ने गरिएको छ । नजिकमा नेपालतिर ठुलो र सस्तो बजार नभएको तर भारतको घोडासहन बजार कम्तीमा पचिस प्रतिशत सस्तो भएको हुनाले भन्सार हुँदा दुवै देशका नागरिकका साथै सरकारलाई फाइदा हुन्छ । नागरिकको सुविधा तथा सरकारलाई राजस्वको लागि भन्सारको स्थापना अनिवार्य भइसकेको छ, ।’

सीमा क्षेत्रका बासिन्दा अन्यको भन्दा सेवा र सुविधाबाट वञ्चित हुन्छन् र सरकारले पनि सीमा क्षेत्रका बासिन्दालाई बेवास्ता गर्दै आएको अनुभव रहेको छ । जहाँ सरकार र जनता दुवैलाई फाइदा हुन्छ त्यहाँ किन सरकारले ध्यान दिएको हुँदैन ? स्थानीयवासी प्रश्न गर्छन् ? भन्सारको पुनस्र्थापना नगरेर सरकारले दुवै क्षेत्रका स्थानीयवासीलाई बेइमान र तस्कर बनाउन चाहेको आरोप बुद्धिजीवीहरुको रहेको छ । नजिकको बजारबाट सामान ल्याउने सुविधा मिलाउनु सरकारको धर्म रहेको बताउँदै बंकुल बजारमा भन्सार कार्यालयको पुनस्र्थापना भएमा दैनिक लाखौँ रुपैया राजस्व उठ्ने अनुमान स्थानीयको रहेको छ ।

हरेक दिन सयौँ सबारी साधनले भन्सार कटाएर सिमा वारपार गर्न पाउँछन् भने विभिन्न कामका लागि अलिकति बढी किनमेल गर्दा पनि भन्सार तिर्ने सजिलो ठाउँ पाउँछन् । स्थानीय भन्छन्, ‘भन्सारको स्थापना हुने हो भने चोरी तस्करी आफैँ नियन्त्रण हुन्छन् । भन्सार कार्यालय स्थापना नहुँदा सबै जनताले सीमा वारपार गर्दा छली गरेको आरोप वा आशंका रहने गरेको छ ।’

सिमावासीको मूल समस्या नै भन्सार रहेको छ । स्थानीयले भन्सार पुनस्र्थापनाको माग गरेको दशकौँ बितिसक्यो तर पनि भन्सार पुनस्र्थापना गर्दैन सरकारले । स्थानीयवासी अचम्भित छन, ‘आम्दानी आउने कार्यालय स्थापना नगरेर सरकारले किन चोरी निकासी तथा पैठारीलाई किन बढावा दिइरहेको छ ?

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया