अन्तिम खेलमा वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । पाहुना टोलीको रुपमा रहेको टेष्ट राष्ट्र वेस्ट इण्डिज ‘ए’ले पाँचौँ तथा अन्तिम खेलमा आज नेपाललाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

वेस्ट इण्डिज ‘ए’ का लागि एलिक एथानाजेले २९ बलमा एक चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा पाँच चौकासहित सर्वाधिक ३३ रन, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११–११ रन बनाए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । उता वेस्टइण्डिज भने अन्तिम खेल पनि जितेर स्वदेश फर्किन चाहन्छ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया