काभ्रे । काभ्रेमा रूखमा तारले बाँधेर जलाई हत्या गरिएका शवको पहिचान खुलेको छ । १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका– २ का विष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको हो ।
गत वैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरबाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
शुक्रबार जिरो किलोस्थित मेलम्ची–जिरो किलो सडक खण्डबाट करिब ५० मिटर तल बिरोजे खोल्चा जंगलमा एक पुरुषको शव फेला परेको थियो । मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारले बताएका छन् ।
आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लो पट्टिको ६ वटा र माथिल्लो पट्टीको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँतसमेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् ।
याे पनि : काभ्रेमा रुखमा बाँधेर जलाइएको पुरुषको शव फेला, कुकुरसहित प्रहरी टोली पुग्दै
दोलखाको सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदी वैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरबाट निस्किएका थिए । मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक वैशाख २४ गते जिरो किलोस्थित एक होटल सञ्चालकको मोवाइल नम्बरबाट घरमा सम्पर्क गरी आफू केही दिन घर नफर्किने बताएका थिए ।
त्यसपछि सम्पर्कविहिन भएका सुवेदीको व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् । घटना प्रकृति हेर्दा उनलाई हत्या गरेर पहिचान नहुने गरी रुखमा बाँधेर जलाएको आशंका गरिएको छ । काभ्रे प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया