सुनसरीको देवानगञ्जमा तनाव बढेपछि सडकमा सेना परिचालन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यू आदेश जारी भए पनि आगजनी र तोडफोड सुरू भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कर्फ्यू जारी भएका स्थानमा सेना परिचालन गरिएको जानकारी दिए ।

सोमबार बिहानदेखि नै कर्फ्यू आदेशलाई अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको सीडीओ घिमिरेले बताए । बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगञ्ज पुगेको छ ।

दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । कप्तानगञ्ज देवानगञ्ज हरिनगर क्षेत्रमा कर्फयू उल्लंघन गर्दै समूहसमूह बनाएर स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी झिकाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई समुदाययसैबीच देवानगञ्जको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ ।
का बिचमा भएको भिडन्तपछि अहिले सर्वपक्षीय छलफल सुरु भएको हो ।

छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् । देवानगञ्ज गाँउपालिकाको कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको थियो ।

९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् । यस्तै घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया