गजुरेलको मार्मिक प्रस्तुति

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कलाकारिताको सिलसिलामा फरक गेटअप गर्न माहिर छन् । उनले गर्ने अधिकांश गेटअप जीवन्त र चर्चायोग्य हुन्छ । यस्तैमा पछिल्लो समय गजुरेलको सहिद शुक्रराज शास्त्री गेट अप चर्चामा छाएको छ । यो गेटअपमा उनले नयाँ वर्ष २०८१ को अवसरमा सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रम ‘सहिद गेट’ का लागि गरेका थिए । जसको भिडियो उनले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोले दिनप्रतिदिन चर्चा बटुल्दै छ ।

२१ मिनेट लामो भिडियोमा गजुरेल शुक्रराज शास्त्री बन्दा कलाकार चक्र दवाडी सहिद दशरथ चन्दको भूमिकामा उनलाई साथ दिएका छन् । यी भूमिकामार्फत कलाकारले इतिहासको सम्झना गर्दै वर्तमानप्रति थुप्रै प्रश्न उठाइएको छ । ‘हामीले क्रान्ति गर्दा हाम्रो नसानसामा रातो खुन बग्थ्यो । अहिले त पहेँलो सुन बग्न थालेछ’ हातमा श्रीमद्भागवत गीताको पुस्तक समातेका गजुरेलले शुक्रराज शास्त्री गेटअपमा बोलेको यो संवाद वर्तमानप्रति तिखो व्यंग्य हो । सहिद गेटमा राखिएका यी दुई सहिदको प्रतिमा बीचको संवादमा आधारित भिडियोमा देशमा भइरहेका श्रम सहिद र सहिदको घोषणा लहरप्रति समेत प्रहार गरिएको छ । स्वदेशी तथा विदेशी चर्चित पात्रमार्फत समाजको चेतनाका लागि विभिन्न व्यंग्य गर्दै आएका गजुरेलको यसपटकको प्रस्तुति विगतका भन्दा निकै मार्मिक छन् ।

प्रतिक्रिया