लगानी सम्मेलनबाट नेपालमा लगानीयोग्य वातावरण भएको सन्देश गयो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको बताएका छन् । बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७औँ वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन । ‘लगानी सम्मेलन सम्पन्न भएको छ । त्यसबाट कति लगानी कति आयो त्यो फरक विषय हो । तर, यसले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ,’ उनले भने । आफूले नेतृत्व सम्हालेदेखि नै निजी क्षेत्रमा देखिएको समस्या समाधान गर्न लागेको दाबी गरेका छन् । मागअनुसार काम नभए पनि निजी क्षेत्र बिना अघि बढ्न नसकिने सरकारको धारणा निर्माण भएको ढकालको भनाइ छ ।

बजारको मनोबल नबढ्दा र उत्साह नदेखिँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन र बजारको मनोबल बढाउन निजी क्षेत्रलाई इन्करेज गर्नुपर्ने उनको भनाइ छ । निरन्तर वकालत गर्दै गएमा त्यसले सकारात्मक परिणाम दिने बताउँदै अध्यक्ष ढकालले सरकार पनि यस विषयमा सकारात्मक रहेको जानकारी दिए ।

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण

अध्यक्ष ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए ।

उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए । ‘नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,’ उनले भने । अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

प्रतिक्रिया