जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धिरबहादुर र खोटाङकी प्रियालाई

मुगु । पाँचौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले हात पारेका छन् । वैशाख १ गतेबाट सुरु भएको ४९ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउपालिकाका– १ का धिरज र महिलातर्फ खोटाङकी प्रियाले उपाधि जितेका हुन् ।

धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि मुगुस्थित रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेण्डमा पार गरेर पुरुषतर्फको प्रथम र प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेण्डमा उक्त दूरी पार गरेर महिलातर्फको प्रथम उपाधि जितेका हुन् ।

त्यसैगरी पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढा क्रमशः दोस्रो र तेस्रो भएका छन् । दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेण्ड र शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेण्डमा ४९ किलोमिटरको दुरी पार गरेका थिए । महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल र अनिता बुढा क्रमशः दोस्रो र तेस्रो भए ।

रावलले ६ घण्टा १५ मिनेट ९ सेकेण्डको समय लगाउँदा बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । प्रतियोगितामा कुल ५४ जना खेलाडी सहभागी भएकामध्य चार विदेशी खेलाडी थिए । कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको जुम्ला–रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १ गते जुल्लामा उद्घाटन गरेका थिए ।

२ गते बिहान पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री श्रेष्ठले जुम्ला रारा–अल्ट्रा म्याराथन आगामी वर्षमा राष्ट्रिय खेलकुद परिषद्को वार्षिक क्यालेण्डरमा समावेश गरिने बताए । उक्त म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालिकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक, जुम्लाका र युरोपका खेलाडीले भाग लिएका थिए ।

कर्णाली स्पोर्टस् क्लबका इभेन्ड म्यानेजर उमेश रोकायाका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको रारा ताल पुगेका थिए । जुम्ला खलंगाको बालमन्दिरदेखि सुरु भएको म्याराथन रारा ताल किनारको हुटुमा पुगेर सकिएको थियो । म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया