एसीसी प्रिमियर कप : मलेसियालाई हराउँदै नेपालको जित सुरुवात

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आज भएको समूह ‘ए’ काे आफ्नो पहिलो खेलमा नेपालले जित सुरुवात गरेको छ । ओमानमा जारी आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै जित सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा नेपाललाई जितका लागि १४४ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपालका स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए । नेपालका लागि दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि सर्वाधिक आशिफ शेखले ३२ रन बनाए भने कप्तान रोहित पौडेलले २८ रन बनाए । ओपनर कुशल भुर्तेलले २४ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले २० रन जोडे । यस्तै गुल्शन झाले १९ रनमा नटआउट रहे भने सन्दीप जोरा पनि १२ रनमा नटआउट रहे ।

आजै भएको अर्को समूह ‘बी’ तर्फ ओमानले बहराइनलाई ३ रनले हराएको थियो । युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । नेपालले शनिबार कतारसँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिता विजेताले एसिया कप खेल्ने छ ।

साबिक विजेता नेपालले मलेसियाविरुद्ध सुखद सुरुवात गरेको हो । प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ ।

प्रतिक्रिया