फाइनल खेलमा गुजरातलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । त्रिकोणात्कम सिरिज टी– २० एसएमएस फ्रेन्डसिप कप क्रिकेटअन्तर्गत आज भएको फाइनल खेलमा भारतको गुजरातलाई १८ रनले हराउँदै नेपाल च्याम्पियन बनेको छ । यससँगै नेपालले उपाधि चुमेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो । नेपालले जितका लागि दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा १५८ रनमात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमांग रोहितकुमारले २८ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका र दुई छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५–१५ रन बनाए ।

नेपालका लागि अविनास बोहराले चार ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । करण केसी र कुशल मल्लले समान एक–एक विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा दुई चौका र एक छक्कासहित ३४, कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा दुई चौका र दुई छक्कासहित ३१ रन र सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।

यस सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो ।अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया