गायक सुमन बिटीले ल्याए ‘तिमी बिना सक्दिन’

काठमाडौं । गायक सुमन बिटीले ‘तिमी बिना सक्दिन’ बोलको गीत र भिडियो ल्याएका छन् । गायक सुमन र गायिका अनु चौधरीको युगल आवाजमा रहेको उक्त गीतमा रबिन भुसालको शब्द रचना र संगीत रहेको छ भने विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा गायक सुमन बिटी आफैँले अभिनय गरेका छन् भने उनलाई मोडल अश्विनी शाहीले अभिनयमा साथ दिएकी छन् । अपर मुस्ताङमा छायांकन गरिएको भिडियोमा कोरियोग्राफी र निर्देशन विशाल नेपालीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

शब्दमा माया प्रेमका भाव प्रकट गरिएर ‘सुमन बिटी अफसियल’ युट्युब च्यानलमार्फत सार्यजनिक उक्त गीतको भिडियो शनिबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको हो । गीतको भिडियो विमोचन कार्यक्रमका प्रमुख अतिथि गायक तथा राष्ट्रिय संगीतकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालले गीतमा समावेश शब्द र भिडियोले माया प्रेमका अधुरा भाव खुलेरै प्रकट गरेको बताए ।

साथै, उनले भिडियोको क्वालिटीको पनि प्रशंसा गरे । हिमाली क्षेत्र मुस्ताङमा पुगेर छायांकन तथा निर्माण गरिएको उक्त गीतको भिडियो उत्कृष्ट हेर्न लायक भन्दै गायक कटुवालले आम दर्शक स्रोताको रोजाइमा पर्नेसमेत जिकिर गरे । प्रमुख अतिथि कटुवालले गायक सुमन बिटी यसअघि पनि निकै राम्रो गीत दर्शक स्रोतामाझ ल्याइराखेको सर्जक भएको उल्लेख गर्दै हालको यो गीत पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी गीत विमोचन समारोहका सभापति तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले पछिल्लो समय दिनहुँ थुप्रै गीतको भिडिओ सार्वजनिक भइरहेका बेला यस फरक र सुन्दर गीत ल्याएकोमा गायक सुमन बिटीलाई बधाई तथा शुभकामना दिए । साथै अध्यक्ष गौतमले गीतको प्रमोशनमा सहयोगका लागि सम्पूर्ण संगीतकर्मी तथा सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

त्यसैगरी उक्त गीतका गायक सुमनले गीतमा लगानी धेरै भएको सुनाउँदै यति नै लगानी भएको भनेर संख्यामा भन्नु भन्दा पनि ठाउँको हिसाबले लगानी धेरै भएको बताए । तीन दिन मुस्ताङमा बसेर भिडियो छायांकन गरेको उनले जानकारी दिए । गायक सुमनले लगानीको हिसाब भन्दा गीत अनुसारको भिडियो पनि आफ्नो उदेश्य भिडियो राम्रो र उत्कृष्ट बनाउनु रहेको बताए ।

प्रतिक्रिया