‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस् : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका सञ्चालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन् ।

अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन र प्रसारण हुने गरेको भन्दै उनले असन्तोष व्यक्त गरे । ‘यसै पनि पत्रकारिता हतारकै हुने गर्छ, त्यसमा पनि अनलाइनमा झनै हतार हुन्छ नै, हतार भयो भनेर वा भ्युअर्स बढी आउँछ भनेर समाजलाई हानी गर्ने गलत र आचारसंहिताका सीमाभन्दा बाहिर गएर समाचार लेख्नु हुँदैन, तपाईंहरू पनि सजग रहनुहोस्’, उनले भने ।

छापा, अडियो, भिडियो अनलाइन वा जुनसुकै माध्यमबाट गरिने पत्रकारिता स्वस्थ, मर्यादित र विश्वसनीय हुनैपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा क्षमताको समुचित सदुपयोग गरेर जिम्मेवार पत्रकारिता गर्न सहभागीलाई आग्रह गरे ।

अनलाइन खोल्दैमा पत्रकारिता नहुने भन्दै अध्यक्ष पोखरेललले अनलाइनबाट सम्प्रेषित हुने सामग्रीले पत्रकारिताको मान्यता अनुसार काम गरेको हुनुपर्ने प्रष्ट पारे । पत्रकारिताको विषयवस्तु निर्माण गर्ने प्रक्रियामा कुनै पनि हस्तक्षेप वा बाधक हुन नहुने प्रष्ट पार्दै उनले त्यस्ता विषयवस्तु निर्माण गर्दा आचारसंहिताको अनिवार्य पालना भने हुनुपर्ने बताए ।

काउन्सिलले पत्रकारलाई आचारसंहिता कक्षा लिएर मात्र अनलाइन सञ्चालन गर्न पाइने गरी सुरु गरेको अभिमुखीकरण कक्षा अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो । काउन्सिलले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्ने गरेको छ । हालसम्म करिब १३ अनलाइनका २ हजारभन्दा बढीले यस्तो कक्षा लिएका छन् ।

शुक्रबारको कक्षामा रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. जगत नेपालले पत्रकार आचारसंहिताका विषयमा र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिता अन्तर्गतका विभिन्न निर्देशिकामा रहेका व्यवस्थाबारे जानकारी दिएका थिए ।

प्रशिक्षक नेपालले विश्वसनीय मानिएका सञ्चार माध्यम पनि फेक न्युजको सिकार हुने गरेको उदाहरण दिँदै पत्रकारितामा सूचनाको प्रमाणिकरण गर्न जरुरी रहेको बताए । विभिन्न ३१ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।

प्रतिक्रिया