दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न पाण्डेको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो ।

मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उसपसचिव एकदेव अधिकारी समितिका सदस्य छन् ।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए ३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

यस्तै, व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने पनि भनिएको छ । हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र त्यससँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने पनि कार्यादेशमा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न त्यसको अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने, हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने र यी विषयमा राय सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिएको सचिवालयले जनाएको छ ।

गत चैत ५ गते हतियार लिएर प्रवेश गर्न खोजेपछि प्रहरीले प्रसाईंका सुरक्षा गार्ड भनिएका दीपक खड्का र राजकुमार धिमाललाई पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतले चैत १३ गते खड्का र धिमालले अनुमति प्राप्त हतियार बोकेकाले रिहा गर्न आदेश दिएको थियो।सँगै अदालतले इजाजत जारी र नवीकरण भएको विषयमा छानबिन गर्न पनि आदेश दिएको थियो ।

प्रतिक्रिया