अर्थतन्त्रमा ललितकलाको भूमिका

काठमाडौं । कलाक्षेत्रले अर्थतन्त्रमा दिएको योगदानका विषयमा परिचर्चा भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत बिहीबार ‘नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान’ विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको हो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्यले सहजीकरण गरेको उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै व्यापार तथा निकासी प्रवर्धन केन्द्रका राजेन्द्र सिंहले कलाको क्षेत्रबाट नेपाली अर्थतन्त्रमा कसरी योगदान पुग्न सक्छ भन्ने विविध विषयमा जानकारी गराए । उनले भने, ‘हामीले परम्परागत कलाहरू जस्तै माटोका भाँडो बनाउने, थाङ्का बनाउने, मूर्ति बनाउने, काठको कामहरू गर्नेलगायतका कलाहरूलाई बचाउनुपर्छ ।’ उनले नेपाली हस्तकलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको जनाउँदै मौलिक कलाको संरक्षणसँगै व्यवसायमा जोड्नु पर्नेमा जोड दिए ।

नेपाल हस्तकला महासंघको अध्यक्ष प्रचण्ड शाक्यले कलाको ज्ञानलाई काठमाडौंमा मात्र नभई पूर्व मेचीदेखि पश्चिम महकालीसम्म फैलाउनुपर्ने बताए । उनले हस्तकलामार्फत नेपालको आय तथा रोजगारमा महत्वपूर्ण हिस्सा ओगटेको जिकिर गरे । निर्वाणा आर्ट ग्यालरीका सञ्चालक बिआर श्रेष्ठले कलाको प्रवर्धनका लागि संघ–संस्थाहरूसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढ्न सके नेपाली अर्थतन्त्रमा धेरै सहयोग पुग्ने बताए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार र कलालाई देशको अर्थतन्त्रसँग जोडेर लैजानुपर्ने विचार व्यक्त गरे । उनले कलामार्फत पहिचान स्थापित गर्न र राज्यमा आर्थिक योगदान दिन हस्तकलाको भूमिका रहेको बताए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा गरिरहने बताए । उनले अप्रत्यक्ष रूपमा कलाको विषयमा मात्र नभई अर्थको रूपमा पनि कलाको क्षेत्रमा योगदान दिने गरी राखिएको कार्यक्रम गरिएको सुनाए । उनले भने, ‘कलाकृति सिर्जना मात्र गर्ने तर आम्दानी नहुँदा कलाकारहरू यस क्षेत्रबाट पलायन हुने अवस्था पनि छ । तिनलाई बचाउनका लागि पनि कलालाई व्यवसायीकरण गर्नुपर्ने देखिन्छ ।’

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङ्माङसँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया