ओलीविरुद्ध इन्द्र अधिकारीको बकपत्र

गलत बाटो रोजेपछि असल मानिस पनि सही र सद्दे हुनसक्दो रहेनछ । देशको प्रधानमन्त्री संसद्ले बनाउँछ कि अदालतले बनाउँँछ ? संसदीय परम्परा र अभ्यासमा कहिल्यै नभएको र कसैले गर्न नमिल्ने संविधान विरोेधी कित्तामा उभिएर इन्द्र अधिकारी एमाले र ओली उपर बकबक गर्न रमाउँदी रहिछन् । उनले अहिलेको गठबन्धन निर्माण गरेका कारण उत्तरतिरसँग सम्बन्ध गाँस्ता केही नेताका आर्थिक हैसियत बलियो बने होलान्सम्म भनेकी छन् ।

मिथिला पोखरेल

लेखक इन्द्र अधिकारीले देश र जनताका हितमा काम गर्नेलाई बारबार लेखमार्फत् धारेहात लगाइरहेको पढेपछि आजित भएर यो लेख तयार पारिएको हो । सच्चा माताले त धन्धुकारी सन्तानलाई उल्टो सम्झाइबुझाइ गर्नुपर्ने र त्यस्ता सन्तानलाई सपार्न हकारपकार गर्नुपर्नेमा उल्टो बाँदरलाई लिस्नु लगाएर्झैँ गरेको देखेर यस्तो लेख लेख्न बाध्य भइयो । विचारको विष धेरै खतरनाक हुन्छ । विषालु विष पिएपछि समाज र देशलाई नै विषाक्त बनाउँछ ।

चाइना मेड भाष्यको भार नामको एउटा लेख एक दैनिकमा छापिएको रहेछ । लेखक थिइन्, इन्द्र अधिकारी । उनले जतिसुकै नयाँ गठबन्धन केपी ओली र प्रचण्डकै पहलमा गरेको भनेकामा आपत्ति प्रकट गरेकी छिन् । हामीले नै गरेको अरू कुनै देशले नगरेको बताए पनि ओलीले काँ काँ भनेर भाष्य निर्माणमा उत्तरतर्फको देश चीन लागिपरेको तर्क गरेकी छन् । नयाँ गठबन्धन बन्ने बित्तिकै प्राडा बद्रीविशाल पोखरेलसित काठमाडौंको एक एफएमले अन्तर्वार्ता लिएको थियो ।

त्यसमा पोखरेलले भन्नुभएको थियो, ‘सकार र नकारको द्वन्द्व निरन्तर चलिरहने प्रक्रिया हो । देशलाई खाल्टामा पर्न र पार्न नदिनेहरू यसमा हर्दम चनाखो हुन्छन् । यही चनाखोपनका कारण देशलाई शीर्ष स्थानमा राख्नेहरू ठूलो क्षतिबाट देशलाई जोगाउन तयार हुन्छन् । यसै क्रममा एमाले र पार्टी अध्यक्ष ओलीको सतर्कताको परिणाम नयाँ गठबन्धन हो ।’ नभन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेललाई पुरानो गठबन्धनबाट देश र जनताविरुद्ध अरू क्षतिपुग्न नदिन ६ महिनाअघि नै गठबन्धन तोड्ने खालको होमवर्क दिएको खुलासा भयो ।

आफूले सत्ता र सरकार पाए नपाए पनि देशका विरुद्ध लागिपर्ने शक्तिलाई कसरी कमजोर पार्ने भन्ने कुरा सोच्नु जरुरी हुन्छ । तर, भारतले सिदासिदी हस्तक्षेप गर्दा मौन बस्ने वा समर्थन गर्ने इन्द्र अधिकारीहरू सच्चा माताका भूमिकामा देखिँदैनन् । एकाध माता उदात्त माताको भूमिका निर्वाह गर्दा रहेनछन् । बारबार आफ्नै आमाकी आमा नेपाल आमामाथि दुरव्यवहार गर्नेकै साथ समर्थन गर्दा रहेछन् । इन्द्र अधिकारीले विगतमा पनि देश र जनताका पक्षमा गरेका कामहरूको बारबार विरोध गरेर लेखहरू लेखेकी थिइन्, तर यसलेखमा अधिकारी अलिअलि गलेकी देखिइन् ।

उनले निवर्तमान राष्ट्रपति विद्या भण्डारीविरुद्ध पहिलेझैँ उग्र र उत्तेजक अभिव्यक्ति दिएकी छैनन् तर आफ्नो लागेको खराब बानी को छाड्छ भनेझैँ दुईपटक संसद् विघटन गरेको विषयमा परोक्ष र मलिन रूपमा लाञ्छित गर्न बाँकी रखिनन् । यसमा पूर्वप्रधानमन्त्री ओलीलाई पनि आफ्नो बकपत्र वा बकबक पत्र उल्लेख गरेको देखिन्छ तर संसदीय अभ्यासमा संसारमा कहीँ र कहिल्यै नहुने र नगर्ने खालको तिथि, मिति र नामसमेत तोकेर प्रधानमन्त्री बनाएको निर्लज्ज विषयलाई अधिकारी दृढ समर्थक देखिइन् । देख्नेलाई लाज हुने विषय लेखमा उल्लेख गरेर इन्द्रले एउटी आमाको इज्जत र आवरु पनि राख्न सकिनन् ।

गलत बाटो रोजेपछि असल मानिस पनि सही र सद्दे हुनसक्दो रहेनछ । देशको प्रधानमन्त्री संसद्ले बनाउँछ कि अदालतले बनाउँँछ ? संसदीय परम्परा र अभ्यासमा कहिल्यै नभएको र कसैले गर्न नमिल्ने संविधान विरोेधी कित्तामा उभिएर इन्द्र अधिकारी एमाले र ओली उपर बकबक गर्न रमाउँदी रहिछन् । उनले अहिलेको गठबन्धन निर्माण गरेका कारण उत्तरतिरसँग सम्बन्ध गाँस्ता केही नेताका आर्थिक हैसियत बलियो बने होलान्सम्म भनेकी छन् । एउटी सच्चा आमा सब सन्तानलाई समभाव राख्छिन् तर माता अधिकारी यति तल ओर्लिएर बोलेको देख्दा लाजले शिर निहुरिँदो रहेछ ।
आमा पनि खालखालका हुन्छन् कि क्या हो ! केही दिनअघि एक टेलिभिजन पत्रकारले निवर्तमान राष्ट्रपति विद्या भण्डारीसित अन्तर्वार्ता लिएका थिए । त्यस वार्तामा भण्डारीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई टेलिफोनमार्फत् नेपाली कांग्रेसजस्तो ठूलो पार्टी विभाजित हुनु नराम्रो हो भनेको बताउनुभयो । सच्चा आमा धर्ती र आकास जत्तिकै फराकिला र उदार मन, मुटु र छाती भएका हुन्छन् र हुनुपर्ने हो । देश र दुनियाँको हित गर्ने आमा क्लारा जेट्किन म्याडम क्युरी, योगमायाजस्ता पो हुन्छन् त । आमा त सिर्जनाकी खानी हुन्, ममताकी मुहान हुन् । कुपुत्र भए पनि कुमाता हुँदैनन् भनिन्छ तर पुतना माता पनि हुँदा रहेछन् । आमाको महानतम भूमिका चटक्क बिर्सिएर माता कुमाता हुनु हुँदैन । तर यस देशमा परिचालित कुमाता वा पुतना पनि छन् कि क्या हो ! सच्चा माताले दुई–चार पैसा पाइन्छ भनेर जथाभावी लेख लेखेर र छापेर गुजारा गर्नु हुन्न । यस्तो विष फैलाएर कोही पनि बाँच्तैन । घर पहिलो पाठशाला भनिन्छ तर यसरी इन्द्र अधिकारीजस्ता माताले आफ्ना घरमा कस्तो पाठ पढाउलिन् र कस्तो पाठशाला बनाउलिन् ।

बाह्य शक्ति र अझ भारतीय शासकमार्फत् ओली सरकार गिराएको प्रसंग परिणामले देखाइसकेको छ । प्रा.कृष्ण खनालले ओली सरकार गिराउन विदेशी भूमिका रहेको ढिलै भए पनि पत्रिकामा बताएका एक लेखमार्फत् बताएकै छन् । मानिस नरपशु अरे ! किनकि यसको ढिलै भए पनि बुद्धि आउँछ वा पलाउँछ रे ! अब इन्द्र अधिकारीको बुद्धि कुन उमेरमा कहिले पलाउने हो त्यो भने हेर्न बाँकी देखिन्छ । तर, यही लेखमा अधिकारी पहिलेभन्दा अलिक नरम भएको थाहा पाइन्छ । बुद्धि, विवेक र ज्ञानको भारले थिचिएपछि मानिस विनम्र हुन्छ । केही पढेलेखैकैले होला अधिकारी शब्दलाई ढुंगासरह बर्साउँदै छिन् । नपढेको भए त बाटाका जतातता लडेका ढुंगा नै बर्साउन पनि सक्थिन् होला । त्यसैले नपढेको भन्दा पढेको मूर्खसित नडराउनु पनि भनिन्छ ।

तर, अधिकारीले उक्त लेखमार्फत् सामान्य जनतालाई सडकका ढुंगा नै हान्न उक्स्याएकी छन् । लेखबाट अधिकारी निकट विगतको राष्ट्रघाती भारत अनुकूलको वा कम्फर्टेबल सरकारको कट्टर पक्षधर रहेको स्पष्ट हुन्छ । यही सरकारका पालामा महाकालीमा भारतीयका कारण भट्ट थरि निहत्था नेपाली मारिए । तर, यस्ता संवेदनशील विषयमा सरकार चुँ सम्म गरेन । यही गठबन्धनले सरकार जोगाउन प्रदेशहरूमा सात मन्त्रालयका ठाउँमा १४ मन्त्रालय बनायो । संघमा ६–६ महिनामा मन्त्री फेर्ने र पालैपालो खाने कामको योजना बनाइयो । चुच्चे नक्साको विषय उक्त गठबन्धनले बोल्न पनि चाहेन । अझ यस्ता विवाद निकालेर ओली सरकारले छिमेक सम्बन्ध बिगारेको समेत भनियो । भारतले आफूलाई क्षेत्रफलको हिसाबमा ठूलो राष्ट्र र दाजु भन्नु अनि नेपाललाई भाइ भन्ने कुरामा असहमति राख्दा मानमर्दन हुन्छ र जुनसुकै देशको सार्वभौमसत्ता समान हुन्छ । भारतीयले नै नेपाल र नेपालीविरुद्ध गतिविधि गर्दा त्यसको शालीन र कूटनीतिक असहमति राख्नु पर्दैन ?

सत्यमेव जयते भन्ने तर नेपाल र नेपालीलाई सिंहझैँ व्यवहार गरेपछि के भन्नुपर्छ । सामान्य ओषधि उपचार सामग्री बोकेका ट्रकहरू नेपाल प्रवेश गर्न नदिने भारतीय शाषकको निकृष्ट नियतलाई चुपचाप सहनुपर्ने हो ? नेपालबाट टमाटर, दालचिनी, अलैँची,अदुवा भारततिर निर्यात गर्नै नदिँदा देशको अभिभावक बनेको सरकार र प्रधानमन्त्री बोल्ने कि नबोल्ने अधिकारी जी ? दक्षिणका सीमावर्ती नेपाली भूभागहरू मिचिँदा मुखमा पानी हालेर बस्ने सरकार र प्रधानमन्त्री चाहिएको हो अधिकारीजीलाई ? नेपाल नेपाली कुनै देशको दास भएर बस्नुपर्ने हो ?

अधिकारीले मित्रराष्ट्रको अनावश्यक मानमर्दन गरिहिँड्ने कुसंस्कारग्रस्त नेता भनेकी छन् । आफू अनुकूल सरकार नहुँदा साथ जनतामा गएर यस्तो उस्तो भनेर मनगढन्ते तुच्छ भाषा र भाष्य निर्माण गर्ने भनेर अधिकारी सारी नै सुर्किएर एमाले र ओलीविरुद्ध बकपत्र वा बकबक गरिरहेकी छन् । भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न र बोल्न नसक्ने चरम दास मानसिकता बोक्नेहरू एमाले अवरुद्ध बारबार विष बमन गरिरहन्छन् ।

छिमेकीलाई विश्वासमा र सन्तुलनमा राख्न नसक्ने अक्षम र नालायक हुन् र बाह्य प्रभाव र दबाब थेग्न नसक्ने काँतर हुन् भन्दै अधिकारी ओलीविरुद्ध नै बकबास गर्छिन् । आफ्नो देशको स्वाधीनता, सार्वभौम सत्ता अखण्डता समेतलाई तिलाञ्जली दिएर छिमेकीलाई विश्वासमा लिनु भन्न खोजेकी हुन् अधिकारीले ? चरम हेलाहोचो, उपेक्षा र अपमान सहेर छिमेकीलाई विश्वासमा लिनुपर्ने भन्नुजस्तो सरमलाग्दो कुरा अरू केही हुनसक्छ ? एउटी आमाले आमाकी पनि आमा नेपालआमामाथि खुलेआम ज्यादती गर्दा पनि मौन बस्न मिल्छ र सुहाउँछ ? इन्द्र अधिकारीको नेपाल आमाप्रतिको हददर्जाको उपेक्षा भाव देखेर पढेर लाज नै लजायो ।

(लेखक एमालेको अनेम संघकी केन्द्रीय सल्लाहकार हुन् )

प्रतिक्रिया