मस्को माथिको आतंककारी हमलाको अन्तैर्य

भारतले अहिले समय निर्धारित भइसकेको युक्रेनका विदेशमन्त्रीको भारत भ्रमणलाई टार्नु या स्थगित गर्नुपर्दछ भन्ने सुझाव त्यहाँका परराष्ट्र मामिलाका विज्ञहरू दिइरहेका छन् । यो समय कुनै शान्ति प्रस्तावको खेस्रा लेख्ने र बोल्ने समय रहेको छैन भन्ने उनीहरूको तर्क छ । विशेष गरी यस्तो समयमा जतिबेला युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हठीय रबैया अपनाइरहेका छन् र युद्धको मोर्चामा रुसलाई हराउने दिवा स्वप्ना देखिरहेका छन् ।

लोकनारायण सुबेदी

महाशक्ति देश रुसले आफ्नो छिमेकी युक्रेनमाथि विगत साढे दुई वर्षदेखि लगातार हमला गरिरहेको छ । नेपालले रुसको यो कदमको निन्दा गर्दै आएको छ । युद्ध जारी रहेकै बेला रुसको राजधानी मस्कोमा २२ मार्च २०२४ का दिन घातक हमला भएको छ । यो हमलाले यतिबेला विश्व नराम्रोसँग तरंगित छ । इस्लामिक स्टेटद्वारा भएको भनिएको यो हमलालाई पनि नेपालले निन्दा गरेको छ ।

मस्कोको संगीत सभागारमा गरिएको यो हमलाबाट १ सय ४३ जना निर्दोष नागरिकको अनर्थमा ज्यान गएको छ भने कैयौँ मानिसहरू घाइते बनेका छन् । यसको दुष्परिणाम के के हुने हो गम्भीर आशंका पैदा भएको छ । यसले विश्वको एक लयमा चल्दै आएको राजनीतिक परिदृष्य बदलिएको छ । अब मस्कोको कदम के हुने हो, यस परिप्रेक्षमा ठूलो सन्त्रास पैदा भएको छ ।

कुनै भरपर्दो मध्यस्थता खोजेर युक्रेनले रुससँग सुरक्षित र सम्मानजनक अवतरणको बाटो खोज्दैछ भन्ने जुन समाचारहरू गएको साता मात्रै प्रकाशमा आएका थिए ती कुराहरू पनि यो घटनापछि पछिल्तिर धकेलिएका छन् । युक्रेन मात्रै होइन, उसको टाउकोमा बसेर रुसका विरुद्ध युक्रेनलाई उक्साइरहेका र भरथेग गरिरहेको अमेरिका र बेलायतजस्ता देशहरू पनि कुनै भरपर्दो मध्यस्थता खोजेर युक्रेन युद्धलाई अवतरण नगराउने हो भने अझ नराम्रो स्थितिमा फस्न पुगिनेबाहेक अरू केही हात लाग्दैन । यो बस्तुगत निष्कर्षतिर लागेको मस्को विश्वस्त हुनसक्ने मध्यस्तकर्ताको खोजी गर्न थालेको थियो भनिन्छ ।

रुसमा यस्ता खालको घातक हमला आजभन्दा दुईदशक पहिलातिरको कालखण्डमा मात्र हुने गर्दथे, जतिबेला चेचेन्यमा मुस्लिम पृथकतावादीहरूका विरुद्ध अभियान चलिरहेको थियो । अहिलेको युक्रेन युद्धको क्रममा यस्तो हमला हुनजाँदा त्यसले के प्रश्न खडा गर्दछ भने यो हमलाको विरुद्ध वास्तविक शक्ति को छ ? वर्तमान घटनाको आरम्भमा त रुसी सुरक्षा फौजले ११ जना हमलाकारी गिरफ्तार गरेको छ । जसमध्ये अब्दुल्ला, मोहम्मदजस्ता नामहरूबाट पहिचान गराइएको छ । आतंककारी संगठन इस्लामिक स्टेटले यो हमलाको जिम्मेवारी पनि लिएको छ । केही महिना पहिला इस्लामिक स्टेटले इरानमा कमान्डर सुलेमानको मकबरा(चिहान)मा पनि यस्तै हमला गरेको थियो । विचारणीय प्रश्न के छ भने जतिबेला अमेरिका तथा अन्य पश्चिमा देशहरूको मद्दतले इजरायल लगातार प्यालेस्टिनीहरूको भूमि गाजामा अत्यन्तै क्रूर नरसंहार गरिरहेको छ । यस्तो बेलामा इस्लामिक स्टेटले पेलेस्टिनीहरूको मित्र देशहरूलाई किन तारो बनाइरहेको छ ? यसबाट त रुस र इरानको यस आरोपलाई बल मिल्दछ कि, अमेरिकी गुप्तचर एजेन्सी सिआइए र इजरायलको गुप्तचर एजेन्सी मोसादले इस्लामिक स्टेटलाई सञ्चालन गरिरहेका छन् ।

हुन पनि रुसी अधिकारीहरूलाई यदि मस्कोको त्यो घातक आतंककारी हमलाको पछाडि युक्रेन पनि सामेल भएको कुनै तथ्य प्रमाण फेला परेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जवाफी हमलाको कारबाही भयंकर भयावह हुनसक्नेछ । यदि यसमा जर्मनी, फ्रान्सजस्ता कुनै देशको पनि साँठगाँठ देखापरेमा पुटिनले त्यसलाई निश्चय नै कडारूपमा दण्डित गर्ने कोसिस गर्नेछन् । यस्तो स्थितिले विश्वलाई तेस्रो विश्व युद्धको अवाञ्छित दिशामा पनि धकेल्न सक्छ । बितेका दिनमा जर्मनी सैन्य अधिकारीहरूले क्रिमियमा रुसको महत्वपूर्ण कर्व पुललाई नष्ट गर्ने रणनीतिमा युक्रेनसँग चर्चा पनि गरेको थयो । जर्मन लामो दुरीसम्म मार हान्ने टाँरस प्रक्षेपास्त्र(मिसाइल) युक्रेनलाई उपलब्ध गराउने विषयमा पनि छलफल चलिरहेको कुरा प्रकाशमा आएको हो । अनि फ्रान्सका राष्ट्रपति पछिल्ला दिनहरूमा रुसका विरुद्ध निकै बढाइचढाइ गरेर बोल्दै आएका छन् । युक्रेनमा नाटो देशका सेनालाई पठाउने कुराकानी पनि चलिरहेको छ । यसो गरेर युरोपेली देशहरू ‘दुर्भाग्य’ निम्तो दिइरहेका देखिन्छन् । यदि यसरी रुसी राष्ट्रपति पुटिनलाई विभिन्न किसिमले उक्साउने कोसिस गरिएमा युरोपमा ठूलो स्तरमा युद्ध छेडिन सक्ने स्थिति बन्दछ र त्यसमा परमाणु हतियारको प्रयोग पनि हुन सक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन ।

युक्रेनका विदेशमन्त्री कुलेवाको यतिबेलै अलमलमा परेको भारत यात्रा यदि भयो भने त्यसको एजेन्डा वर्तमान विश्व सन्दर्भको स्थितिमा के होला ? यतातर्फ पनि अहिले विश्वको नजर केन्द्रित भइरहेकै छ र अझ तीव्रताकासाथ हुनेछ । अहिले रुसको राजधानी मस्को माथिको आतंकी हमलापछि युक्रेनले स्वयंलाई निर्दोष र उत्पीडित भएको स्वाँङ रच्ने स्थितिमा हुन सक्ने छैन । रुस पनि युक्रेनको मनसुवाकाप्रति पहिलाभन्दा धेरै बढी सशंकित छ । किनभने रुसले राजधानीमै आतंकवादको खतराको सामना गर्नु परिरहेको छ । स्थिति अत्यन्तै गम्भीर छ । किन पनि भने युक्रेनका पछाडि अमेरिका र बृटेनजस्ता शक्तिहरूको निरन्तर आडधाप रहँदै आएको छ ।

यस्तो स्थितिमा भारतले अहिले समय निर्धारित भइसकेको युक्रेनका विदेशमन्त्रीको भारत भ्रमणलाई टार्नु या स्थगित गर्नुपर्दछ भन्ने सुझाव त्यहाँका परराष्ट्र मामिलाका विज्ञहरू दिइरहेका छन् । यो समय कुनै शान्ति प्रस्तावको खेस्रा लेख्ने र बोल्ने समय रहेको छैन भन्ने उनीहरूको तर्क छ । विशेष गरी यस्तो समयमा जतिबेला युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हठीय रबैया अपनाइरहेका छन् र युद्धको मोर्चामा रुसलाई हराउने दिवा स्वप्ना देखिरहेका छन् । यस्तो बेलामा कसैलाई पनि नमागिएको सस्तो सल्लाह दिइनु उचित हुँदैन भनिरहेका छन् । त्यसो गरियो भने राष्ट्रपति पुटिनले त्यसलाई ठाडै दुत्कार्नेछन् भनिँदै छ र यसले दुई देश बिचको परम्परागत असल सम्बन्धमा अमिलोपन आउन सक्ने खबरदारी पनि गरिरहेका छन् । कुनै तेस्रो देशको प्रभाव, दबाब या उक्साहटमा रुस–युक्रेन युद्धमा राय बनाउनु उचित हुँदैन भनिँदै छ ।

प्रष्ट छ, रुसमाथि जुन आतंकी हमला अहिले भएको छ त्यसको दुष्परिणाम अकल्पनीय पनि हुन सक्छ । यो रुसको सार्वभौमकता, स्वाभीमान र स्वतन्त्रलाई ठाडो चुनौती दिने अवाञ्छित घटना हो । यसको प्रतिरोध पनि धेरै घातक र अपूर्व हुन सक्ने सम्भावनालाई कसैले पनि इन्कार गर्न सक्तैन । विश्वभरीका राष्ट्रहरूले त्यो मस्को घटनाको तीव्र विरोध गरेका छन् र त्यसको दुष्परिणाम अत्यन्तै भयावह हुनसक्ने चेतावनी पनि दिएका छन् ।

नेपाल पनि रुसको मित्रराष्ट्र हो । तर अवैध रूपमा प्रवेश गरेका हजारौँ नेपालीलाई फिर्ता गर्नुको सट्टा रुसले आफ्नो सेनामा भर्ती गरेर विनातालिम युक्रेनविरुद्ध लडाएको समाचारहरू आइरहेका छन् । यसरी जाने मध्ये १७ जना नेपालीहरू युक्रेनी सेनाद्वारा मारिइसकेको पुष्टि भएको छ । मृतकहरूको लास फिर्ता गर्न, अवैध रूपमा गएका नेपालीहरूलाई सेनामा भर्ना नगर्न र भर्ना भएकालाई समेत फिर्ता गर्न नेपालले रुससँग जोडदार माग उठाउँदै आएको छ । यस सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोविकोभसँग गरेको भेटवार्ता निकै पीडादायी भएको समाचार आएको छ ।

मृतकहरूको लास फिर्ता गर्न, अवैध रूपमा गएका नेपालीहरूलाई सेनामा भर्ना नगर्न र भर्ना भएकालाई समेत फिर्ता गर्न अर्थमन्त्री पुनले गरेको अनुरोधको प्रत्युत्तरमा रुसी राजदूतले ‘उनीहरूलाई रुसले बोलाएर आफ्नो सेनामा भर्ती नगरेको’ भन्ने जवाफ दिएका छन् । उनले भारतलगायतको बाटो भएर अवैधरूपमा रुस गएका नेपाली स्वेच्छाले भर्ती भएको र उनीहरू नेपाल फर्कन इच्छुक नभएको पनि दाबी गरेका छन् ।

अवैधरूपमा प्रवेश गरेका विदेशीलाई कुनै पनि सभ्य मुलुकले यसरी आफ्नो सेनामा भर्ती गर्दैन तर रुसले भने नेपालको अनुरोधपछि पनि नेपालीलाई उसको सेनामा अवैध भर्ती गर्न छाडेको छैन । अवैधरूपमा गएकालाई सेनामा भर्ती गर्ने कि फिर्ता पठाउने ? संसारका अरू कति मुलुकले यसरी अवैधरूपमा प्रवेश गर्नेलाई सेनामा भर्ती गरेका होलान् ? रुसले बोलाएको नहोला तर अवैधरूपमा देशभित्र प्रवेश गर्नेहरूलाई सेनामा भर्ती गर्नुले रुसको साख घटेको छ । अहिलेसम्म २ सय ७१ जनाका आफन्तले मात्र स्वदेश फर्काइदिन सहयोगको आग्रह गरेर सरकारलाई आवेदन दिएका छन् । कति नेपाली अवैधरूपमा रुसी सेनामा भर्ती भएका छन् भन्ने एकिन जानकारी नेपाल सरकारसँग छैन ।

प्रतिक्रिया