मोडलिङमा जम्दै अनुप

काठमाडौं । सुदूरपश्चिमको बझाङदेखि भविष्य खोज्दै राजधानी काठमाडौं आएका अनुप विष्ट गीति भिडियोको मोडलिङमा जमेका छन् । उनी लोक तथा दोहोरी गीतका भिडियोमा व्यस्त छन् ।

बझाङको जयपृथ्वी नगरपालिका– १० मा बुवा लेकेन्द्र विष्ट र आमा सत्यदेवी विष्टको कोखबाट जन्मिएका विष्टले सानैदेखि विभिन्न गीत सुन्न र नृत्य गर्न रुचि रहेको बताए ।

बाल्यावस्थामा विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर आफ्नो प्रस्तुतिमार्फत शिक्षकदेखि साथीहरुलाई समेत आश्चर्य बनाउने गरेको सुनाउँदै विष्टले भने, ‘विभिन्न जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा पुरस्कृत भएँ । त्यसपछि औपचारिक रुपमै कलाकार भएर आफ्नो भविष्य बनाउनको लागि २०७३ सालमा काठमाडौं आएँ ।’

उनले गाउँमा आफूले सोचेजस्तो सहरमा रम्न र टिक्न सजिलो नभएको अनुभव सुनाउँदै भने, ‘गाउँका ठूलाबडाले पनि यहाँ बसेर कलाकार भइँदैन, काठमाडौं जानुपर्छ भन्नुभयो, म आफैँले पनि धेरै कलाकार काठमाडौं नै बसेर आफ्ना कर्मअघि बढाएको सुनेको थिएँ ।’

काठमाडौं आएपछि निरमाया दोहोरी साँझबाट काम सुरु गरेका अनुपले त्यही दोहोरी साँझमा नृत्य गर्दै जाँदा गीति भिडियोमा मोडलिङ गर्ने अवसर मिलेको सुनाए ।

‘पहिलो पटक काठमाडौं आएको मान्छे म त्यसमाथि भविष्य बनाउने सपना बोकेर’, अनुपले भने, ‘जे सोचेर आएको थिएँ तर यहाँको रहनसहन धेरै फरक थियो, सुरुमा त बस्ने कोठा र बिहान बेलुका खाना जुटाउनै समस्या थियो ।’ उनले संघर्ष गर्दै जाँदा लोकदोहोरी क्षेत्रका केही चलेका कलाकारसँग चिनजान बढ्दै गएपछि साथ र हौसला मिलेको सुनाए ।

उनले आफूलाई यस ठाउँमा साथ दिनेमा गायक बद्री पंगेनीले महत्वपूर्ण भूमिका खेलेको बताए । विष्टले त्यो समय गायक पंगेनी आफैँ सञ्चालक रहेको निरमाया दोहोरी साँझमा रोजगारीको अवसर पाउनुुदेखि गीति भिडियोमा मोडलिङ गर्न पनि उनैबाट धेरै साथ मिलेको सुनाए ।

उनले हालसम्म एक दर्जनभन्दा बढी गीति भिडियोमा मोडलिङ गरेको जानकारी दिँदै यही क्षेत्रमा आफूले भविष्य देखेको जनाए । अहिले पनि रातको समयमा सोही दोहोरी साँझमा काम गर्दै दिनमा समय निकालेर गीति भिडियोको सुटिङमा आफू हिँड्ने गरेको बताए ।

प्रतिक्रिया