गायक चन्दले पाए सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । केही दिनअघि राजधानीमा सम्पन्न १४औँ विन्दवासिनी म्युजिक अवार्ड वितरण समारोहमा गायक चन्दलाई सर्वोत्कृष्ट लोक गायकको अर्वाड प्रदान गरिएको विन्दवासिनी म्युजिकका सञ्चालक सुवाश रेग्मीले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकको प्रायोजनमा आयोजना गरिएको सो समारोहमा गायक चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीतबाट उनलाई अवार्ड प्रदान गरिएको सञ्चालक रेग्मीले बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिका– १ अग्लुङ निवासी गायक चन्द रेडियोकर्मीका रुपमा समेत परिचित छन् । रेडियोकर्मीका साथै चन्दले धेरै गीतहरु बजारमा ल्याइसकेका छन् ।

ग्रामीण भेगको मौलिकता टिप्ने चन्दलाई स्थानीय भाषा संस्कृति र गीत संगीतमार्फत संरक्षण प्रवर्द्धन गरी नेपाली लोक दोहरी गीतको क्षेत्रमा योगदान पुर्याए बापत विन्दवासिनी १४औँ म्युजिक अवार्ड सर्वोत्कृष्ट लोक गायकका रुपमा सम्मान गरिएको रेग्मीले बताए ।

हालसम्म दर्जनौँ गीत बजारमा ल्याएका गायक चन्दका यस अघिका चरी रुखैमा, भिरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, भुल्दैभुल्दै जानु, आमा, अँध्यरो, तीन फुर्के डोरी, फूल फुल्यो केशरी, मेची महाकाली लगायत धेरै गीतहरु चर्चामा छन् ।

यस १४औँ विन्दवासिनी म्युजिक अर्वाडले आफूलाई गीत संगीतमा अघि बढ्न थप हौसला मिल्नुका साथै मौलिक सृजना उत्पादन गर्नमासमेत थप जिम्मेवारी बनाएको गायक चन्दले बताए । कार्यक्रममा गायक चन्दसँगै अन्य ३१ विधाका सर्वोत्कृट हुने व्यक्तिहरुलाई पनि सम्मान गरिएको विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया