काठमाडौं । घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले हारेपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौँ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । विजेता नेदरल्याण्ड्सलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरे ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताए । ‘टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो’, उनले भने, ‘पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।’
कप्तान पौडेलले सुरुवात राम्रो भए पनि योजना अनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए । ‘जुन तरिकाले हामीले सुरुवात पाएका थियौँ, त्यस अनुसार २०० रन बनाउने योजना थियो तर हामीले १०–१५ रन कम बनायौँ’, उनले भने, ‘मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।’
उनले पावर प्ले र डेथ ओभरमा कमजोरी सुधार हुन नसकेको पनि बताए । ‘यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ, पावर प्ले र डेथ ओभर राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधार गर्नेछौँ ।’
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताए । ‘नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ’, उनले भने, ‘यसअघि पनि धेरै क्लोज गेमहरु खेलेका छौँ, प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।’
उनले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल बेञ्च बलियो बनाउनका लागि सहयोगी हुने बताए । ‘विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन्, यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पुर्याउनेछ’, उनले भने । उनले फाइनल खेलमा अविनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताए ।
शृङ्खलामा नेदरल्याण्ड्स पाँच अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अंकका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अंक जोडेको नामिबिया तालिकाको पुक्ष्छारमा रह्यो ।
शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो ।
साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो ।– रासस
प्रतिक्रिया