पाँचथर गोल्ड कपको तयारी पुरा

पाँचथर । जिल्लाको सदरमुकाम फिदिममा शनिबारदेखि सञ्चालन हुने चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक पाँचथर क्लबले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिताको उद्घाटन संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले गर्ने भएका छन् । शनिबार दिनको १ बजे फिदिम माविको खेल मैदानमा हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र सप्तरीको नमोबुद्ध फुटबल क्लबबीचत प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब त्रिभुवन आर्मीसहित आठ टिमले सहभागिता जनाउने भएका छन् ।

आइतबार हुने प्रतियोगितामा झापा ११ फुटबल क्लबसँग इलामको रेडहर्स फुटबल क्लब भिड्नेछ । सोमबार हुने खेलमा सर्लाहीको वागती युथ क्लबसँग मोरङको पथरी ११ फुटबल क्लब भिड्नेछ । मंगलबार हुने खेलमा भारतको हिल्स फुटबल एकेडेमीले ‘ए’ डिभिजन क्लब त्रिभुवन आर्मीको सामाना गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार र उपविजेता टिमले दुई लाख ५५ हजार नगद पुरस्कारसहति ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले जानकारी दिए ।

फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको म्यान अफ दी म्याचले पाँच हजार, सर्वोत्कृष्ट खेलाडी, सार्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कउष्ट मिडफिल्डर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको फ्यान अफ दी म्याचलाई पनि दुई हजार पाँच सय पुरस्कार प्रदान गर्ने आयोजकले तयारी गरेको छ ।

प्रतिक्रिया