इराक विरुद्ध नेपालको फराकिलो जित, ‘साम्बा’ ले गरिन् पाँच गोल

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इराक विरुद्ध फराकिलो जित निकालेको छ । सावित्रा भण्डारी ‘साम्बा’ ले पाँच गोल गरेसँगै नेपालले फराकिलो जित निकालेको हाे । पहिलो हाफमा चार गरी कुल पाँच गोल गरेसँगै उनले आफ्नो अन्तराष्ट्रिय करियरमा ४४ खेलमा ४९ गोल पुर्याएकी छन् ।

१४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिशका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन् ।

१६औं मिनेटमा साम्बाले नै नेपालको दोस्रो गोल गरिन् । इराकी डिफेन्डर दिरिन मुल्लाबाकरबाट बक्स भित्र नै बल खोसेर उनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

३७औं मिनेटमा साम्बाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडर मार्फत गोल गर्दै उनले नेपालको अग्रता पनि तीन गोलको बनाइन् ।

४४औं मिनेटमा उनले अर्को गोल थपिन् । रेखाको पासमा उनले गरेको पहिलो प्रहार अल सदेइले बचाएपनि दोस्रो पटकमा गोल गर्दै उनले खेलमा व्यक्तिगत चौथो गोल गरिन् । ८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन् ।

नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।

प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३-० को जित निकालेको थियो । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

प्रतिक्रिया