विश्वकप लिग–२ : आज नामिबियाविरुद्ध पहिलो हारको बदला लिने दाउमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल नामिबियासँग दोस्रोपटक भिड्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले हारेको थियो । आज नेपाल त्यो हारको बदला लिने दाउमा छ । नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १३२ रनमै अलआउट भएको थियो ।

नामिबियाविरुद्धको पहिलो खेलमा टोलीमा नरहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अहिले समेटिएकाले नेपाल बलियो बनेको छ । घरेलु मैदानमा दर्शकको साथ पाएको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ ।

पहिलो खेलमा नामिबियासँग पराजित नेपाल दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो । नेपाल लगातार दोस्रो जित दर्ता गराउने योजनामा छ ।

उता नामिबियाले पनि पहिलो खेलमा झैँ फेरि नेपाललाई हराउन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नामिबिया नेदरल्याण्ड्सँग ७ विकेटले हारेको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार साह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल रहेका छन् ।

प्रतिक्रिया