इलाम । जिल्लाको देउमाई नगरपालिकाको मुख्य प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
९ करोड, ७२ लाख १३ हजार रुपैयाँको लगानीमा निर्माण सुरु भएको भवनको ८५ प्रतिशत काम पूरा भएको इन्जिनियर प्रतीक दवाडीले जानकारी दिए ।
इन्जिनियर दवाडीका अनुसार भवनको संरचनाको सम्पूर्ण काम सम्पन्न भएको छ । झ्याल–ढोका र फायर फाइटिङ विद्युतीकरणको काम ९० प्रतिशत, टायल–मार्बलको काम ९५ प्रतिशत र रंगरोगनको काम ८० प्रतिशत सम्पन्न भएको इन्जिनियर दवाडीले जानकारी दिए ।
लिफ्टसहितको ६ तले सुविधासम्पन्न भवनमा ३६ कोठा र चार सय जना क्षमताको एक हल निर्माण भएको छ ।
भवन निर्माणको ठेक्का कविन्द्र नव सीर्जनशील जेभीले लिएको थियो । भवन निर्माणका लागि नगरपालिकाले १४ करोड ५१ हजार रुपैयाँको अनुमानित लागत तयार गरेको थियो । तर लागत अनुमानभन्दा ३१ प्रतिशत न्यून लागतमा कविन्द्र नव सीर्जनशील जेभीले निर्माणको जिम्मा लिएको थियो ।
२०८० मंसिर २६ सम्म निर्माण सम्पन्न गर्नेगरी २०७८ असोज २६ गते सम्झौता भएको थियो । तर सो अवधिमा निर्माण सम्पन्न नभएपछि २०८० फागुन २६ गते सम्मका लागि म्याद थप भएको इन्जिनियर दवाडीले जानकारी दिए ।
भवन निर्माणका लागि संघीय सरकार र देउमाई नगरपालिकाको ५०÷५० प्रतिशत साझेदारी रहेको छ । नयाँ प्रशासनिक भवनबाट आउँदो वर्षदेखि सेवा प्रवाह गर्न सुरु गरिने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले बताए । ‘प्रशासनिक भवन निर्माणको काम सम्पन्न भयो । अब झ्याल–ढोका, टायल–मार्बल, रंगरोगन र विद्युतीकरणको काम मात्र बाँकी छ । त्यसलाई पनि चाँडै सकेर आउने नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारीमा छौँ’, नगरप्रमुख पोख्रेलले भने । देउमाई नगरपालिकाको कार्यालय हालसम्म भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको छ ।
इलाम
प्रतिक्रिया