पार्टीहरूको शुद्धीकरणविना गणतन्त्र सुदृढीकरण असंभव

दीनेश रायमाझी

गणतन्त्रको बारेमा धेरै कुरा गर्न सकिन्छ । किनभने हाम्रो संविधानले हामीलाई गणतन्त्रमाथि बहस र छलफल गर्ने, आलोचना गर्ने ठाउँ यदि दिएको छ भने आलोचना गर्ने, यसको समर्थन र प्रशंसा गर्ने पूर्ण अधिकार छ । गणतन्त्रको, संविधानको, सरकारको, न्याय प्रणालीको, पुलिस र सेनाको तथा नागरिक प्रशासनको आलोचना गर्ने पनि पूर्ण स्वतन्त्रता उपलब्ध छ ।

तर मुख्य कुरा के हो भने यस्ता स्वतन्त्रताहरूले मात्रै गणतन्त्र बलियो हुने, संविधान बलियो हुने, सरकार राम्रो हुने, सेना, पुलिस, अदालत प्रशासन राम्रो हुने भन्ने होइन रहेछ । गणतन्त्र राम्रो हुने भनेको जनताका समस्याहरूको संवोधन हुने, न्याय र कानुनी व्यवस्था राम्रो हुने, सुशासन कायम हुने, रोजगारी प्राप्त हुने, स्वास्थ्य प्रणाली राम्रो हुने, शिक्षा सबैको पहुँचमा र गुणस्तरीय हुने आदि आदि जस्ता कुराहरू रहेछन् ।

राजाका पालामा, पञ्चायतकालमा उनीहरूको शासन व्यवस्था जनहितकारी पनि थिएन, लोकप्रिय पनि थिएन र खासमा जनअनुमोदित पनि थिएन । राजाको बारेमा मात्रै होइन कि राजाका भाइभारदारहरूको बारेमा, उनका आसपासेहरूको बारेमा, सरकारी उच्चपदस्थ मानिसहरूको बारेमा अरू त अरू गाउँमा जिम्मुवाल, प्रधानपञ्च बनेर बसेका ठालुहरूको बारेमा पनि लेख्न, आलोचना गर्न मनाही थियो । विरोध गर्नेहरूको, आलोचना गर्नेहरूको कस्तो हालत हुन्थ्यो भन्नेकुरा त सुखानी काण्ड, छिन्ताङ काण्ड, पिस्कर काण्ड, यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ आदिको हत्याकाण्डहरूले बताइहाल्छन् ।

गणतन्त्रको औचित्य पुष्टि गर्दै यसलाई बलियो बनाउने र देश गणतन्त्रविना अगाडि जान सक्दैन भनेर जवाफ दिने हो भने पहिलो काम पार्टीहरूको शुद्धीकरण हो । पार्टीको शुद्धीकरणले नै गणतन्त्रको पनि शुद्धीकरण गर्ने छ । शुद्धीकरणबाट निस्किएका पार्टीहरूले नै गणतन्त्रको सुदृढीकरण गर्न सक्छन् । पार्टीको शुद्धीकरण नै गणतन्त्रको शुद्धीकरणको पूर्वसर्त हो ।

गणतन्त्रमा यस्तो त छैन । लेख्न बोल्न र आलोचना गर्न मात्रै होइन कि गाली गर्नेसमेत छुट छ । यो गणतन्त्र आएको धेरै भएको छैन । जुन शक्तिले राजा र पञ्चायतलाई फालेर देशमा गणतन्त्र ल्याउने काम ग¥यो आज तिनै शक्तिहरूको विरुद्धमा तर गणतन्त्रलाई मुख्य निशाना बनाएर तिनै आततायी शक्तिका प्रतिनिधिहरू सडकमा भुनभुनाउन थालेका छन् । हुन त उनीहरूको यो सलबलाहटले केही हुने होइन तर आजको डिजिटल युगमा यसले ओहो के के नै हुने हो कि जस्तो हाउगुजी भन्ने मनोविज्ञान बनाउन खोजेको भान हुन्छ । यसले समाजमा एककिसिमको डरको मनोविज्ञान बनाउने काम गरेको छ ।

आजको हाम्रो मूल समस्या के हो ? यसको पहिचान हुनु आवश्यक छ । अर्थात् आजको दिनमा यी प्रतिगामी शक्तिहरूले के कुरालाई गणतन्त्रको कमजोरी हो भन्ने मानेका छन् भन्ने कुरा जान्नु जरुरी छ । मेरो अब्जर्भेसनमा उनीहरूको आधार भनेको देशमा घटित अनेक प्रकारका भ्रष्टाचारजन्य कामहरू नै हो भन्ने लाग्छ । उनीहरूका हरेक भेला र छलफलहरूमा, एकापसमा भेटघाट हुँदा उठ्ने विषय भनेको यिनै विषयहरू हुन् । देशमा भ्रष्टाचार ब्याप्त छ भनेर भन्न कसैलाई सोध्नै पर्दैन । भ्रष्टाचार भएको छ, तर समस्या के हो भने भ्रष्टाचार गर्ने माथि कुनै प्रकारको छानबिन र कारबाही भएको देखिँदैन ।

जस्तो वाइडबडी विमान खरिद प्रकरण, ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकुको शिविरको घोटाला, गिरी बन्धु टि स्टेट नामका जुन घोटालाहरू चर्चामा छन् तिनको वास्तविकता के हो त ? छानबिन गरेर क्लिन चिट समातेर बस्ने कि सधैँभरि भ्रष्टाचारको आरोप शीरमा बोकेर हिँड्ने ? यस्तो कुराले प्रतिगामीहरूलाई हल्ला गर्ने वातावरण बनाउने काम गरेको छ । यी आरोप लागेकाहरूले पनि र राज्य स्वयंले पनि यस्ता विषयहरूलाई टुंगोमा लैजान तत्परता देखाउनुपर्छ ।

गणतन्त्र भनेको जनताद्वारा चुनिएका प्रतिनिधिहरूले जनताको निम्ति शासनगर्ने प्रणाली हो । तर हाम्रो सन्दर्भमा नमिलेको हो कि जस्तो कुरा के हो भने जनताले छान्न चाहेका वा रुचाइएका भन्दा धेरै मान्छेहरू नेताहरूले चाहेकाहरू जनप्रतिनिधि बनेका छन् । को के भन्ने कुरा जगजाहेर नै छ । कतिपय अवस्थामा त आर्थिक लेनदेनबाट पनि जनप्रतिनिधि बनाउने काम भएको छ भनिन्छ । यो त जनताले बनाउन चाहेको जनप्रतिनिधि भएन नि । यस्ता मान्छेहरू नै हुन् भ्रष्टाचारमा बढी सक्रिय रहने ।

किनभने यिनीहरूलाई एक त आफ्नो लगानी उठाउनुपर्ने बाध्यता रहेको हुन्छ भने अर्कोतिर आफूलाई सहयोग गरेर जनप्रतिनिधि बनाइदिनेहरूप्रति पनि ‘अब्लाइज्ड’ हुनुपर्ने बाध्यता रहन्छ । नेताहरूले पनि यस्तैलाई प्रयोग गरेको अवस्था पनि छ । यी र यस्ता यावत कुराहरू कसरी घटित हुन संभव हुन्छन् भने पार्टीभित्र यस्तो गर्नसक्ने वातावरण विद्यमान रहेको हुनाले संभव हुन्छ । त्यसकारण सही मान्छेको छनौट गर्न, सही मान्छेलाई सही समयमा उचित जिम्मेवारी दिन, सही पार्टीको आवश्यकता रहन्छ ।

अहिले सबैजसो राजनीतिक दलहरू कोटरीबाट सञ्चालित छन् भन्दा हुन्छ । देउवाले कसलाई समर्थन गर्छन्, प्रचण्डले र ओलीले कसलाई समर्थन गर्छन् खासखास जिम्मेवारीमा भनेर पहिले नै भन्न सकिन्छ । केन्द्रदेखि तलसम्मै रिङ बनाइएको छ । रिङभन्दा बाहिरका जतिसुकै असल र सक्षम भए पनि तिनीहरूले जिम्मेवारी पाउन मुस्किल पर्छ । यदि दिनैपर्ने अवस्था आइपर्यो भने जिम्मेवारी त दिने तर काममा असहयोग गरेर असफल पार्ने र बदनाम गराउने । असहमति राख्नेलाई आफ्नै नेताले कसरी असफल बनाउँछन् भन्ने एउटा राम्रो उदाहरण हुन्, तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल ।

पार्टी कसरी राम्रो बन्छ त उसोभए ? पार्टीलाई राम्रो बनाउने भनेको विचारधारात्मक हिसाबले सही बनाउने हो । पार्टीभित्र विचारधारा अनुसारको जीवनपद्धति बनाउने हो । उसैगरि सबैको व्यवहार आचरण निर्माण गर्ने हो । हाम्रै पालासम्म पनि पार्टीको सदस्य बन्न निश्चित ज्ञान भएको, विचारधाराको बारेमा केही बुझेको, समाज र आन्दोलनको बारेमा पनि केहीहदसम्म जानेको र एककिसिमको अठोट भएको हुनुपर्ने हुन्थ्यो । आचरण र बोलिचाली पनि अरूको भन्दा छुट्टै तर सबैलाई सम्मान गर्ने किसिमको हुनुपर्ने हुन्थ्यो । दरोसँग हात मिलाउँदै आँखामा हेरेर कुरागर्न सक्ने हुनपथ्र्यो । तर आज यस्तो आवश्यक पर्दैन ।

संगठनको सदस्य बनिसकेपछि विचारधारात्मक विषयमा, सैद्धान्तिक विषयमा क्लास लिइरहनुपर्ने, तत्सम्बन्धी पुस्तकहरू अध्ययन गर्नुपर्ने हुन्थ्यो । पार्टीले, आफू संगठित भएको कमिटी वा त्योभन्दा माथिल्लो कमिटीले सञ्चालन गर्ने आन्दोलनमा भाग लिनुपर्ने हुन्थ्यो । तर आज यस्तो छैन । आज राप्रपाको नेता कम्युनिस्ट पार्टीमा आउन चाह्यो भने ऊ सजिलै आउन सक्छ मात्रै होइन उसले कम्युनिस्ट पार्टीमा पोलिट ब्युरो सदस्यको जिम्मेवारी पाउँछ ।

राप्रपाले तयार पारेको क्याडर, यता टिकट पाउनको निम्ति आउनेले कम्युनिस्ट पार्टीलाई कस्तो बनाउला ? अर्थात राम्रो पार्टी बनाउने कुराले नै राम्रो जनप्रतिनिधि बनाउने, राम्रो सरकार बनाउने, सुशासनयुक्त शासन ब्यवस्था चलाउने र देशलाई विकासको बाटोमा लैजाने कुरालाई निर्दिष्ट गर्ने रहेछ । वामपंथीको पूर्ण बहुमत छ तर राष्ट्रिय सहमतिको नाम दिएर दक्षिणपन्थीलाई पनि सरकारमा सामेल गराउने कुरा राम्रो पार्टीले गर्दैन । यदि यस्तो हो भने जनतासँग बहुमत किन माग्नु ?

हामीले अहिले हेर्ने भनेको चीन र भारतका बामपंथीहरूको चरित्र हो र सिक्ने पनि धेरै कुरा छन् तिनीहरूसँग । उनीहरू भ्रष्टाचारको मामिलामा चोखा छन् । जीवनशैली साधारण किसिमको छ । ठुलो रवाफ छाँट्ने र खानपिन, बसाइँ र लवाइमा शौकिन पनि देखिन्नन् । सर्वहारा भन्नेहरूलाई सम्पत्ति किन चाहिन्छ ? दाइजो किन चाहिन्छ ? कम्पनीका सेयर किन चाहिन्छन् ? राजावादीहरूको नजरमा ओली किन बदनाम छन्भन्दा बालकोट दरबारको कारणले ।

उनी यो अनिकालमा, यो अभावमा, यो अफ्ट्यारो अवस्थामा पनि बाँसुरी बजाउन सक्छन्, सारंगी रेट्न सक्छन् र गीत गाएर मनोरञ्जन गर्न सक्छन् भन्नेछ । प्रचण्ड किन बदनाम छन् भने उनी आलिशान महलमा बस्छन्, घरपरिवारका सबैलाई कुनै न कुनै जिम्मेवारीमा राखेका छन् र लगातार तीन दशकदेखि निरन्तर पार्टीको नेतृत्व गरिरहेका छन् तर पार्टी लगातार संकुचित हुँदै गइरहेको छ भन्नेछ । देउवा किन बदनाम छन्, भन्दा भ्रष्टाचारमा डुबेको कुरा छ । आलिशान दरबारमा बस्छन् भन्ने छ ।

हामीले नराम्रो भनेको पञ्चायतले विभिन्न कलकारखानाहरू खोलेको थियो । आज ती कलकारखानाहरू सबै बिक्री भए । तर आज त्यसप्रकारका कलकारखानाहरू किन खुलेका छैनन् वा किन नखोलेको ? कृषिमा किन उत्पादन घटिरहेको छ ? बेरोजगारी किन घट्न नसकेको होला ? यी सबै कुराले हो गणतन्त्र बदनाम भएको । बदनाम भएको गणतन्त्र बलियो पनि हुन सक्दैन । संसद्भित्र प्रधानमन्त्रीलाई अपराधी भनेर संबोधन गर्नु भनेको गणतन्त्र कमजोर भएको हो । मदन भण्डारीले भत्ता बुझ्थे भनेर भन्नु भनेको पनि गणतन्त्र कमजोर भएको हो । राजा आऊ भनेर नारालाग्नु भनेको पनि गणतन्त्र कमजोर भएको हो ।

गणतन्त्रको औचित्य पुष्टि गर्दै यसलाई बलियो बनाउने र देश गणतन्त्रविना अगाडि जान सक्दैन भनेर जवाफ दिने हो भने पहिलो काम पार्टीहरूको शुद्धीकरण हो । पार्टीको शुद्धीकरणले नै गणतन्त्रको पनि शुद्धीकरण गर्ने छ । शुद्धीकरणबाट निस्किएका पार्टीहरूले नै गणतन्त्रको सुदृढीकरण गर्न सक्छन् । पार्टीको शुद्धीकरण नै गणतन्त्रको शुद्धीकरणको पूर्वसर्त हो ।

प्रतिक्रिया