काठमाडौं । त्रिकोणात्मक सिरिज क्रिकेटअन्तर्गत नेपालले हङकङलाई ६ विकेटले हराएको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको थियो
पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपालले दोस्रो खेल पनि ६ विकेटले जितेको हो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । हङकङलाई ६ विकेटले हराउँदै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा क्याच आउट भए । ३४ बलको सामना गरेका आशिफले ६ चौका हाने । कप्तान रोहित पौडेल २५ र गुलसन झा १४ रनमा नटआउट रहे ।
२० बलको सामना गरेका रोहित १ चौका र २ छक्का हाने । गुलसनले ५ बलमा २ छक्क प्रहार गरे ।
ओपनर कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए । सन्दिप जोरा ३ तथा कुशल मल्ल १ रनमा बोल्ड आउट भए ।हङकङका इसान खानले ३ विकेट लिए । यासिम मुर्तजाको नाममा एक विकेट रह्यो ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो । नेपालका करण केसी एक्लैले चार विकेट लिए । किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए ।
करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे । अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए ।
इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे । अविनास बोहोरा र सोमपाल कामीले समान दुई विकेट आफ्नो नाममा गरे । कुशल मल्ल, मौसम ढकालले समान एक विकेट लिए ।
हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए । ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने । जिसान अलीले १७ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । डबल राउण्ड रोविनमा हुने सिरिजको शीर्ष २ मा रहने टोलीले फाइनलमा भिड्नेछन् ।
टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
प्रतिक्रिया