चालु खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख छ ।
यो अवधिमा चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको छ । शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । तर, समष्टिगत माग घट्दासमेत मूल्य वृद्धि उकालो लागिरहेको छ । भदौमा मात्र मूल्यवृछि ८.१९ प्रतिशत छ । खाद्य र पेय सबैतिरको मूल्य बढेको छ ।

विप्रेषण आप्रवाह

यो अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले कमी आई ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

वैदेशिक व्यापार

यो अवधिमा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ । चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधीलगायतका वस्तुको निर्यात घटेको छ ।

दुई महिने आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २५९ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ । चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ । वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई २३३ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड बराबरको भएको थियो ।

भदौ मसान्तसम्म खुद सेवा आय २५ अर्ब ३४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१९ अर्ब २६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५३.९ प्रतिशतले वृद्धि भई ९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.५ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब ६० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय २३ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २० अर्ब १६ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोेड रहेको थियो ।

खर्च तथा राजस्व

आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा सरकारको कुल खर्च १३१ अर्ब १४ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च ८७ अर्ब ६६ करोड, पँुजीगत खर्च ८ अर्ब १६ करोड र वित्तीय व्यवस्था खर्च ३५ अर्ब ३१ करोड रहेको छ । सरकारको कुल राजस्व परिचालन १४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व १२७ अर्ब ९६ करोड र गैर कर राजस्व १३ अर्ब १२ करोड परिचालन भएको छ ।

उपभोक्ता मुद्रास्फीति
भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही हिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ । यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.१८ प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ । २०७९ भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया