गैरआवासीय नेपालीलाई पहिलो पल्ट नागरिकता

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

सतहत्तरवटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकताका लागि मंगलबार देखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। ।

नागरिकता वितरण पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धि भएको बताए ।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उनले भने ।

आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताए । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उनले भने, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”

संसारभरि रहेका नेपाली नेपालका गैरआवासीय दूत भएको उल्लेख गर्दै उनले नेपालले गैरआवासीय नेपालीबाट धेरै अपेक्षा गरेको बताए । सरकारले सङ्घको स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको जनाउँदै उनले े चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको बताए ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताए । गैरआवासीय नेपालीको चाहनालाई सरकारले सम्बोधन गरेको उल्लेख गर्दै उनले सरकार र सम्पूर्ण राजनीतिक दलप्रति आभार प्रकट गरे । “यो (नागरिकता) कागज होइन, अभिभारा पनि हो, यसबाट ठूलो अभिभारा थपिएको छ, विदेशमा बस्ने नेपालीले मातृभूमिको समृद्धिमा योगदान गर्नुपर्छ”, उनले भने ।

अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मुलुक बाहिर रहेका नेपालीलाई नागरिकताले मातृभूमिसँग जोडेको बताए । सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने कानुनी प्रबन्ध गरेकामा सरकार र सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिँदै उनले नेपाललाई समृद्ध बनाउन गैआवासीय नेपाली लागि रहेन दिलाए ।

गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
यसैबीच गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन मंगलबारदेखि काठमाडौमा सुरु भएको छ ।

‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उनको भनाइ थियो । 

मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।

“नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ”, राष्ट्रपति पौडेलले भने, “हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस ।”

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ । 

नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गरे । 

“नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ”, उनले भने, “नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नु सबैको कर्तव्य हो ।”

नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्दैै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उनले आग्रह गरे । 

सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । “नेपालमा लगानीका लागि स्रोतको अभाव छ”, उनले भने , “नेपालमा लगानी गर्दा तपाइँहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।” उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक नागरिकता दिइने पनि उनको भनाइ छ ।

नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उनले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए । विदेशमा रहने प्रत्येक नेपालीहरु नेपालका लागि अवैतनिक राजदूतका रूपमा रहने परराष्ट्रमन्त्री साउदले उल्लेख गरे । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । “नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ”, उनले भने । 

संयुक्त राष्ट्रसङ्घका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए । 

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे । “मुलुक बनाउनका लागि सङ्कल्पको कमी छ । हामीसँग पर्याप्त क्षमता हुँदाहुँदै हामीले त्यसको प्रयोग नेपालमा गर्न चुकेका छौँ । जबसम्म देश बनाउन नागरिक आफैँ जुट्दैनन् तबसम्म मुलुक समृद्ध हुँदैन”, महतोले भने  । 

कार्यकारी अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए । उनले े श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गरे  । विगतका वर्षमा नेपालमा लागानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उनको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे े ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसिसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताए । 
एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्दै  मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे । संसारभर छरिएर रहेका नेपाली विकासका सच्चा साझेदार बन्न सक्ने औँल्याउदै  अध्यक्ष आचार्यले नेपालको माटो बेचेर विदेशमा सम्पत्ति न जोड्न पनि आग्रह गरे। 

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ । संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया